जनता टाइम्स

२२ जेष्ठ २०७७, बिहीबार १८:५८

भारतमा फेला परेको कोरोना भाइरस बेग्लै रहेको भारतीय बैज्ञानिकले गरे पुष्टि


काठमाडौ, जेठ २२

भारतीय वैज्ञानिकहरूले भारतमा सक्रिय सार्स–कोभ–२ भाइरस वुहानमा सक्रिय भन्दा फरक रहेको फेला पारेका छन् । कोभिड–१९ रोगको कारक रहेको नोबल कोरोना भाइरस (जसको वैज्ञानिक नाम SARS-COV-2 हो) को अहिलेसम्म कम्तिमा ११ पटक उत्परिवर्तन भएको भारतीय वैज्ञानिकहरूले दावी गरेका छन् । कुनै पनि जीवको आनुवंशिक संरचनामा आउने हठात् परिवर्तन उत्परिवर्तन हो ।

पश्चिम बंगालस्थित ‘नेसनल इन्स्टिच्युट अफ् बायोमेडिकल जेनोमिक्स’ मा भएको अध्ययनबाट अनुसन्धानकर्मीहरूले उक्त निष्कर्ष निकालेका हुन् । अनुसन्धानकर्मीहरूले ५५ देशका तीन हजार ६३६ संक्रमितमा भेटिएको कोरोना भाइरसको वंशाणुको संरचना (जिनोम सिक्वेन्सिङ) को अध्ययन गरेका थिए ।

अध्ययनमा भारतका २१ वटा नमूना समेत समावेश गरिएको थियो । उक्त अध्ययनबाट उनीहरूले भारतमा फेब्रुअरी र मार्चमा प्रभावकारी भएको भाइरस ‘ए२ए’ (A2A) प्रकारको भएको फेला पारेका छन् । ‘इन्डियन जर्नल अफ् मेडिकल रिसर्च’मा प्रकाशित उक्त अध्ययनको रिपोर्ट अनुसार परीक्षणमा सामेल गरिएका एक हजार ८४८ (५१ प्रतिशत) नमूनामा ‘ए२ए’ प्रकारको नोबल कोरोना भाइरस पाइएको छ। यो भाइरस चीनको वुहानमा फेला परेको ‘ओ’ (O) प्रकारबाट उत्परिवर्तन भई बनेको हो। अध्ययनमा सामेल गरिएका ५८२ वटा नमूनामा मात्रै ‘ओ’ प्रकारको कोरोना भाइरस भेटिएको थियो।

अध्ययनमा सामेल भारतीय नमूनाहरूमा ४५.७ प्रतिशतमा ‘ए२ए’, ३७.१ प्रतिशतमा ‘ए३’ (A3), १४.३ प्रतिशतमा ‘ओ’ र २.९ प्रशितमा ‘बी’ प्रकारको सार्स-कोभ-२ पाइएको छ। अध्ययनले वुहानमा देखापरेको ‘ओ’ प्रकारको कोरोना भाइरस धेरैजसो देशमा पुग्दा ‘ए२ए’ प्रकारको भाइरसमा उत्परिवर्तन भएको देखाएको छ। खासगरी इटालीमा यस्तो भएको छ। संयुक्त राज्य अमेरिकामा पनि ‘ओ’ प्रकारको कोरोना भाइरस न्यून पाइएको छ र ‘ए२ए’ प्रकारलाई ‘बी१’ (B1) प्रकारले विस्थापन गरेको पाइयो।

अमेरिकामा फरक–फरक राज्यमा पनि फरक प्रकारका कोरोना भाइरस सक्रिय भएको पाइयो। वासिंगटनका ८३ प्रतिशत नमूनामा ‘बी१’ प्रकारको कोरोना भाइरस पाइयो जबकि न्यूयोर्कमा भने ‘ए२ए’ प्रकारको बढी पाइयो। एक अर्को अनुसन्धानले भारतमा ‘ए२ए’ पछि ‘ए३आई’ (A3I) प्रकारको सार्स-कोभ-२ सक्रिय भएको देखाएको छ। ‘सीएसआइआर’को प्रयोगशालामा गरिएको कोरोना भाइरसको ३६१ वटा वंशाणुको अध्ययनमा ४५ प्रतिशत ‘ए२ए’ प्रकारको र ४१ प्रतिशत ‘ए३आई’ प्रकारको पाइएको छ।

यो अध्ययन अनुसार अहिले संसारभर सक्रिय ११ प्रकारका सार्स-कोभ-२ भाइरसमध्ये ६ प्रकारका भाइरस भारतमा सक्रिय छन्। यी विभिन्न प्रकारका भाइरस सार्स–कोभ२ समूहमै पर्छन्। यी भाइरसहरूको आधारभुत संरचना समान छ। उनीहरूको वंशाणुको संरचनाको समरूपताका कारण एउटै समूहमा राखिएको छ। वंशाणुगत संरचनामा उत्परिवर्तनका कारण आएका स(साना फरकले यो भाइरसलाई विभिन्न प्रकारको बनाएको छ।

यसरी सार्स-कोभ-२ लाई यसरी वर्गीकरण गर्नुको केही फाईदा छन्। यस्तो वर्गीकरणले कुन प्रकारको कोरोना भाइरस बढी हानिकारक छ, कुन छिटो फैलिन्छजस्ता जानकारी पाउन सकिन्छ। यसभन्दा अघि नै गरिएका अध्ययनहरूले अहिले संसारभर प्रभावकारी भइरहेको ‘ए२ए’ प्रकारको कोरोना भाइरसले ‘ओ’ प्रकारको भन्दा सजिलोसँग फोक्सोमा असर पुर्‍याउँछ। (भारतिय पत्रिका द हिन्दुबाट साभार)