जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार १०:२६

राहात बाँडने सवारी पास बनाएर केन्द्रीय सदस्य ओसार्दै नेपाल रेडक्रस, लकडाउनमै बोलाइयो बैठक


काठमाडौं, जेठ २४ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत्र ११ गतेदेखि मुलुकभर लकडाउन गर्दै आइरहेको छ । आपत्कालिन सेवा बाहेकका सम्पूर्ण गतिविधिहरु ठप्प प्रायः छ । एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्न नपाइने नियम कडाइका साथ लागु गरिएको छ । तर यो नियम रेडक्रस र यसका पदाधिकारी सदस्यहरुमा भने लागू भएका छैनन । आपतकालिन सेवाका नाममा रेडक्रसको एम्बुलेन्स र गाडीमा निर्वाध रुपमा जुनसुकै जिल्लाका मान्छेहरु सजिलै काठमाडौं प्रवेश गरिरहेका छन् ।

नेपाल रेडक्रसको निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि गत २०७५ चैत्रमा समाप्त भएता पनि रेडक्रसको विधानको दफा ५४ (३) को अपव्याख्या गरी अध्यक्ष संजीव थापाले पटक पटक आफ्नो आयु बढाउँदै आउनु भएको छ । यही जेठ ३० देखि ३२ सम्म गर्ने गरी तेस्रो पटक तोकिएको रेडक्रसको कार्यसमिति निर्वाचन कार्यक्रम हुन नसक्ने र आफु नेतृत्वको कार्यसमितिको प्राकृतिक मृत्यु हुने भएपछि सबै प्रकारका हतकण्डा प्रयोग गरेर भएपनि केन्द्रीय कार्यसमितिको बैठक राख्ने र आफू नेतृत्वको कार्यसमितिको म्याद पुनः थप गर्ने अभिष्टका साथ अध्यक्ष थापाले जेठ २६ गते केन्द्रीय कार्यसमितिको बैठक आयोजना गर्नुभएको छ ।


जेठ २६ को बैठकमा मुलुकभरका केन्द्रीय सदस्यलाई आमन्त्रण गरे पनि जिल्ला जिल्लामा रहेका सदस्यहरुले हालको अवस्थामा आफूहरु आउन नसक्ने जवाफ पाएपछि अध्यक्ष थापाले रेडक्रसका गाडीका लागि पास उपलब्ध गराउन गृह मन्त्रालयमा दौडधुप गर्नुभयो तर सफल नभएपछि विहीबार मात्रै राहत सामग्री ओसार्ने नाममा ५९३८ र ८३५८ गरी दुइ वटा गाडीहरु उदयपुर र विराटनगर पठाउनु भएको छ ।

उक्त गाडीबाट पाँचथर देखि हेटौंडासम्मका केन्द्रीय सदस्य ओसार्ने उद्देश्य रहेको रेडक्रसकै उच्च पदस्थ अधिकारी बताउँछन् । मध्य तथा सुदूरपश्चिका जिल्लाबाट आउनको लागि नेपालगंजमा गाडी तैनाथ गरिएको छ । कोरोना महामरीको यो अवस्थामा देशभरीबाट मान्छे ओसारेर ३५ देखि ४० जनाको उपस्थितिमा अध्यक्ष थापाले गर्न लागेको यो बैठकले नेपाल सरकार मन्त्रिपरिषदको निर्णयलाई ठाडै चुनौति दिएको छ । रेडक्रस नेतृत्वको यस्तो खालको अकर्मन्यताको जानकारी काठमाडौं महानगरका १३ नं वडा कार्यालयदेखि गृहमन्त्रालयसम्म पुगेपछि काठमाडौं महानगरपालिका १३ नं वडा कार्यालयले रेडक्रसलाई बैठक रोक्न पत्र पठाएको छ ।

त्यसैगरी मन्त्रिपरिषदको निर्णय विरुद्ध हुने गरी रेडक्रसले आयोजना गर्न लागेको केन्द्रीय कार्यसमितिको बैठक रोक्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महानगरीय प्रहरी परिसर, टेकुलाई पत्र काटेको छ ।


तर अध्यक्ष थापा भने जसरी पनि बैठक गर्ने भन्दै लाग्नुभएको छ ।