जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार १२:२४

ज्वरो आएपछि अस्पतालको आईसीयूमा भर्ना भएका युवकको मृत्यु


चितवन, जेठ २४

क्वारेन्टाइनमा ज्वरो आएपछि शुक्रबार भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक २७ वर्षीय युवकको मृत्यु भएको छ । ज्वरो आएर अस्पताल भर्ना भएका ति युवालाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. प्रमोद पौडेलले जानकारी दिनुभयो ।

‘माडीकै एक क्‍वारेन्टाइनमा रहेका ती युवकमा स्वास्थ्य समस्या देखिएपछि शुक्रबार अस्पतालमा भर्ना गरिएको हो’, उहाले भन्नुभयो, ‘ल्याउँदा ज्वरो देखिएको थियो । हामीले आईसीयूमा राखेर उपचार शुरु गरेका थियौं । आज बिहान उपचार गर्दा गर्दै मृत्यु भयो ।’

अस्पतालका अनुसार आज बिहानैदेखि ती युवकलाई श्‍वास फेर्न कठिनाइ भइरहेको थियो । भरतपुर अस्पतालले मृतक युवकको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षण गर्न पठाएको छ । चितवनको माडी नगरपालिका घर भएका ती युवक दुई साताअघि मात्रै भारतबाट आएका थिए ।