जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार १३:३२

सार्वजनिक स्थानमा अनिवार्य मास्क लगाउनुहोस् : डब्ल्यूएचओ


काठमाडौं, जेठ २४

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मास्क लगाउने विषयमा उसको पुरानो सुझाव परिवर्तन गर्दै कोरोनाभाइरस सङ्क्रमण फैलिनबाट रोक्न आम मानिसलाई सार्वजनिक स्थानमा मास्क लगाउन सल्लाह दिएको छ । डब्ल्यूएचओका अनुसार मास्क लगाउँदा ‘सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्नमा अवरोध’ हुन्छ ।

विगतमा उक्त संस्थाले मास्कले सङ्क्रमण रोक्छ भन्नेबारे पर्याप्त प्रमाण नभएको जनाएको थियो । अहिले नै कैयौँ देशमा मास्क लगाउन सुझाव दिइएका वा अनिवार्य गराइएका छन् । डब्ल्यूएचओकी प्राविधिक विज्ञ डा. मारिया भान कर्खोभले समाचारसंस्था रोएटर्ससँग कुरा गर्दै आफूहरूले सर्वसाधारणलाई ‘मेडिकल मास्क नभई कपडाको न मास्क’ लगाउन सुझाएको बताइन् ।

सो संस्थाले मेडिकल मास्क भने बिरामीले वा बिरामीको हेरचाह गर्नेहरूले मात्र लगाउनुपर्ने भन्दै आएको छ । उसका अनुसार पछिल्लो सुझाव हालैका साताहरूमा गरिएका अध्ययनहरूको निष्कर्षमा आधारित छन् । ‘हामी सरकारहरूलाई आम मानिसलाई मास्क लगाउन प्रेरित गर्न अनुरोध गर्छौँ’, कर्खोभले भनिन् ।

यसबीच डब्ल्यूएचओले मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने विभिन्न उपायमध्ये एक उपाय मात्र भएको भन्दै यसले मानिसहरूलाई गलत तरिकाबाट ढुक्क भने पार्न नहुने बताएको छ । ‘मास्क मात्रैको प्रयोगले कोभिड–१९ बाट जोगाउँदैन’, डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रस एडहानोम गेहब्रेयससले भने ।

विश्वभरिमा कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या बढेर ६७ लाख पुगेको छ भने झन्डै चार लाख मानिसको ज्यान गएको छ । (बिबिसी)