जनता टाइम्स

२५ जेष्ठ २०७७, आईतवार १३:४७

लकडाउन खुकुलो बनाउने अन्तिम गृहकार्यमा सरकार : यस्ता छन १० चरणको मोडालिटी


काठमाडौं, जेठ २५ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउन (बन्दाबन्दी) खुकुलो बनाउने निश्कर्षमा सरकार पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी फैलन नदिन आवश्यक सतर्कतासहित लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समितिलाई निर्देशन दिनुभएपछि सरकार लकडाउन खुकुलो बनाउने निश्कर्षमा पुगेको हो ।

सरकारले लकडाउनलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ मोडालिटीसमेत तयार पारेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई समेत समावेश गरी १० चरणको नयाँ मोडालिटी तयार पारिएको हो । उच्चस्तरीय समितिले तयार पारी अन्तिम रुप दिन लागिएको मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरुलाई रंगमा विभाजित गर्ने र सुरक्षा पद्धती अपनाउँदै खुला गर्ने तथा आवश्यकता अनुसार लकडाउनलाई खुकुलो बनाउँदै जाने रहेको छ ।

यस्तै सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि लकडाउनलाई खुकुलो बनाउने बिकल्पको मोडालिटी पनि समावेश गरेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने मोडालिटीको विषयमा शनिबार छलफल गरेको थियो । छलफल पछि समितिका सदस्यहरुले मस्यौदा तयार पारी संयोजक पोखरेललाई बुझाइसकेका छन ।

समितिले शनिबार पहिलो चरणमा छलफल गरेको थियो । समितिले १० चरणको मोडालिटीलाई अघि बढाएर लकडाउनलाई खुकुलो बनाउने निश्कर्षमा पुगेको छ । समितिले मोडालिटीको विषय थप छलफल गरी मन्त्रीपरिषदमा सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले मोडालिटीलाई आवश्यकताअनुसार परिमार्जनसहित अन्तिम निर्णय गर्नेछ । स्रोतका अनुसार नयाँ मोडालिटी लकडाउनकै बीचमा आर्थिक गतिबिधि बढाउनेतर्फ केन्द्रित रहेको छ ।

‘लकडाउनको समय धेरै भएकोले नागरिकमा असहज महसुस भएको छ, यसलाई सम्बोधन गर्दै कसरी कोरोनाको जोखिम कम गर्दै आर्थिक गतिबिधिलाई अगाडि बढाउन सकिन्छ र नागरिकले सहजता महसुस गर्न सक्छन भन्नेमै प्रस्ताव कन्द्रित रहेको छ,’ समितिमा रहेका एक मन्त्रीले जनताटाइम्ससँग भन्नुभयो, ‘प्रधानमन्त्रीसँग संयोजकले आवश्यक परामर्शसमेत गरेपछि मन्त्रिपरिषद बैठकबाट पारित गरिनेछ ।’ नयाँ मोडालिटीमा बिदेशबाट नेपाल फर्काउने नेपालीका आवश्यक मापदण्ड तोकेर फर्काउने समयसमेत किटानी गरिने छ ।

दुवईबाट नेपाल ल्याउने क्रममा मापदण्डको दशौं नम्बरमा परेका ब्यक्तिसमेत समावेश गरी अघिल्लो मापदण्डका ब्यक्ति छुटेको तथ्यका आधारमा यस्तो ब्यवस्था गर्न लागिएको मन्त्रिपरिषद स्रोतको भनाई छ । ‘मन्त्रिपरिषदले बिदेशमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने निर्णय गरिसकेकोले अव जुन मापदण्डका हुन, तिनलाई मात्रै ल्याउने, फरक फरक मापदण्डकालाई फरक फरक बिमानमा ल्याउने कुरा भइरहेको छ,’ ती मन्त्रीको भनाई थियो ।