जनता टाइम्स

२६ जेष्ठ २०७७, सोमबार ०९:१३

बजेटको अघिल्लो दिन भन्सार जाँचपास भएकै हो त १२० वटा विद्युतीय गाडी ? यस्तो छ तथ्य


काठमाडौं, जेठ २६ । संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्नुभएपछि संसददेखि अनलाइन मिडियासम्ममा सूचना बेचेर १ सय २० ओटा बिद्युतीय सवारी भन्सारबाट छुटाइएको भन्दै आरोपको बर्षा लागेको छ । बजेट भाषणमा बिद्युतीय गाडी आयातमा कर बढाइएको भन्दै अघिल्लो दिन नै १२० ओटा गाडी छुटाइएको आरोप उनीहरुको छ ।

केही अनलाइनले सरकार र अर्थमन्त्रीबिरुद्ध मिसन चलाउँदै बजेट निर्माणमा संलग्न मन्त्री र अर्थ मन्त्रालयको टीमले नै सूचना चुहाएर रातारात गाडी छुटाइएको भन्दै समाचार दिएपछि त्यसैलाई आधार मानेर कांग्रेसदेखि प्रतिपक्षी सवैजसो सांसदहरु अहिले पनि एकोहोरो यही रटान लगाइरहेका छन । मुलुकको नीति निर्माणमा रहेका सांसदहरु कत्ति सही छन त ? बजेट भाषणको अघिल्लो दिन भन्सारबाट कति वटा बिद्युतीय सवारी साधन छुटेको थियो ? यस बिषयमा जनताटाइम्स डटकमले फ्याक्ट चेक गर्दा तथ्य अर्कै फेला परेको छ ।

भन्सार बिभागको तथ्यांकमा बजेट भाषणको अघिल्लो दिन अर्थात जेठ १४ गते केवल दुई ओटा मात्रै बिद्युतीय सवारी साधन भन्सारबाट छुटेको देखाउँछ । भन्सार बिभागको तथ्यांकअनुसार जेठ महिनाभर ९३ ओटा बिद्युतीय सवारी साधन भन्सार पास भएको छ ।

हेर्नाेस यस्तो छ तथ्य

१. २०७७ जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधनहरु भन्सार जाँचपास भएका छन् । जसमध्ये जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र जाँचपास भएका छन् । गतवर्ष पनि जेठमा ५४ वटा विद्युतीय गाडीहरु जाँचपास भएका थिए । गत वर्षको भन्दा यो वर्ष आयात दोव्वरको नजिक पुगेको देखिएकोले यो वर्ष जेठमा ९३ वटा भन्सार हुनु सामान्य कुरा हो ।

२. सुक्खा वन्दरगाहा भन्सार कार्यालयवाट बैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत्र २५ मा भन्सारमा आइपुगेका थिए । जेठ ७ गते जाँचपास भएका ७५ वटा सवारी साधन बैशाख ११ गते भन्सारमा आइपुगेका थिए ।

३. बजेटको हप्ता अगाडी (बजेट भाषण हुनुभन्दा अगाडि जेठ ८ देखि १५ सम्मका ७ दिनसम्म) जम्मा १८ वटा मात्र विद्युतीय गाडीहरु जाँचपास भएका छन् तर यही अवधि (जेठ ८ देखि १५ सम्मका ७ दिनको अवधि) मा पेट्रोलियम गाडीहरु भने ३४३ जाँचपास भएका थिए ।

४. बजेट प्रस्तुतीको अघिल्लो दिन अर्थात जेठ १४ गते विद्युतीय गाडी २ वटा जाँचपास भएका थिए भने पेट्रोलियम गाडीहरु १७९ वटा आयात भएका थिए ।

५. भन्सार दररेट जेठ १४ गते राती मात्र यकिन हुने भएकोले जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने संभावना रहंदैन ।

६. चालु आ.व.मा जसरी श्रावणमा ९१ वटा, मंसिरमा ११२ वटा, पौषमा ९५ वटा गाडीहरु जाँचपास भएका छन्, त्यसैगरी जेठमा ९३ वटा जाँचपास भएका छन्, जुन स्वभाविक नै हो ।

७. बजेट प्रस्तुतीको अघिल्लो दिन अर्थात प्रत्येक वर्षको जेठ १४ गते सामान्यतया धेरै राजश्व संकलन हुने गरेको छ । २०७७ जेठ १४ गते–१७२ करोड, २०७६ जेठ १४ – २१५ करोड र २०७५ जेठ १४ गते–२१९ करोड संकलन भएको थियो ।