जनता टाइम्स

२६ जेष्ठ २०७७, सोमबार १६:५८

अस्पतालका कर्मचारीले जव अस्पतालमै आफैलाई आगो लगाए


अछाम, जेठ २६ । अछामको बयालपाटा अस्पतालका एक कर्मचारीले जागिरबाट हटाइएपछि अस्पताल परिसरमै आत्मदाहको प्रयास गरेका छन् । अछामको साँफेबगर नगरपालिका ६ का सिद्धार्थ आउजीले अस्पतालले जागिरबाट हटाएपछि अस्पताल परिसरमै आगो लगाएर आत्मदाहको प्रयास गर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी दीपक भारतीले अस्पतालले जागिरबाट हटाएपछि आउजीले आत्मदाहको प्रयास गरेको जानकारी दिनुभयो । पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका आउजीको शरीरमा लागेको आगो अन्य कर्मचारीले निभाएका थिए । आगोमा परेर गम्भीर घाइते हुनुभएका आउजीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । आउजीले अस्पतालमा सफाइ कर्मचारीको रुपमा काम गर्दै आउनु भएको थियो । उहाँलाई अस्पताल प्रशासनले जागिरबाट हटाएपछि यस्तो घटना भएको अर्का एक कर्मचारीले जानकारी दिए ।

लकडाउनको मौका छोपेर डेढ वर्षदेखि कार्यरत आउजीसहित ३३ जनाको अस्पतालले करार रद्द गरेको थियो । बयालपाटा अस्पतालका सिनियर पिपुल अप्रेसन अफिसर नवराज जोशीले एक वर्षको करार रहेको र करार सकिएकाले नविकरण नगरिएको बताउनु भएको छ । उहाँले आर्थिक अभावले ३३ जनाको करार नथपिएको बताउनु भयो ।