जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार १०:१४

रुपन्देही सामूहिक हत्याकाण्ड : ‘सनक’ मै लिए पब्जी खेल्न गएका दुई किशोरसहित पाँच जनाको ज्यान


बुटवल, जेठ २८ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० मैनिहवाका चुलाही थारुका छोरा आशिष चौधरी (थारु) स्थानीय स्कुलमै कक्षा ८ मा पढ्थे। लकडाउनपछि विद्यालय बन्द भयो। सोही मौकामा उनको साथीको घरमा आउजाउ चलिरहेकै थियो। सोमबार पनि त्यसैगरी उनी करण चौधरीसँगै गाईफर्म पुगेका थिए ।

१८ वर्षीया करण, स्थानीय गया चौधरीकै जेठा नाती हुन्। उनका बुवा वैदेशिक रोजगारीको शीलशीलामा देशबाहिर छन्। गया गाउँकै इँटाभट्टामा चौकीदारी गर्छन्। करण कता जान्छन् भन्ने परिवारलाई त्यति जानकारी पनि थिएन्। करणले आशिषलाई लिएर सोमबार साँझ उनका साथी रमेश भनिने पोषराज मुसहरकहाँ पुगे । पोषराज गाईफर्ममा काम गर्थे। गाईफर्मका सञ्चालक दाजुभाइ कृष्णबहादुर पुन र रामबहादुर पुनले छोराकै हैसियतमा राखेका थिए उनलाई।

गंगादेवी फर्ममा छिमेकीकोमा जोडिएको इन्टरनेट मोवाइलमा टिप्छ। त्यही इन्टरनेटमा जोडिएर उनीहरु ‘पब्जि गेम’ खेल्थे। पोषराजसँग मोवाइल छैन। अन्य दुई साथीले मोवाइल बोकेर आउथे। सोमबार पनि त्यही गेम खेल्न उनीहरु गाईफर्ममै बसे। गाईफर्ममा दुई वर्षदेखि काम गर्दै आएका रुपन्देही सैनामैना नगरपालिका वडा नम्बर ५ दरखासीका ४० वर्षीय माधव मुसहर र ३५ वर्षीया जानकी मुसहर र उनका १० वर्षीया छोरा अर्जुन मुसहर थिए। दुई महिनाअघि मात्रै काम गर्न आएका सुर्खेतका ३१ वर्षीया झसेन्द्र सिंजाली पनि गाईफर्ममै सुत्थे।

सोमबार साँझ गाईफर्ममै सुतेका सात जनामध्ये पाँच जना एकै चिहान भए। माधवका १० वर्षीया छोरा अर्जुन कोठाभित्र सुतेकाले उनलाई केही भएन्। बिहान गाईफर्मका सञ्चालक पुन पुग्दा पाँचै जनाको शव एकै ठाउँ थियो। गाईफर्ममै बस्ने झसेन्द्र भने थिएनन्। यो हृदयबिदारह दृष्य देखेपछि आशिषका पिता चुलाही थारुलाई एकाबिहानै फोन आयो । भर्खर उठनु भएका उहाँलाई फोनमा कसैले सोध्यो ,‘तपाईको कान्छो छोरा कहाँ छ ?’ उहाँले अकमकिदै जवाफ फर्काउनु भयो, ‘साथीसँग गाईफर्मतिर गएको होला ।’ जवाफ आयो, ‘तपाईं तुरुन्त आउनुस ।’

तत्काल आउनोस भनेपछि उहाँ झस्कनुभयो । के भयो भन्दै हस्याङफस्याङ मैनिहवाकै गंगादेवी गाईफर्म पुगे। कान्छो छोरा आशिष चौधरी (थारु) को शव रक्ताम्य अवस्थामा गाईफर्मभित्रै लडिरहेको थियो। टाउको समातेर भक्कानिनुभयो।सञ्चालक कृष्ण पुनले छिमेकी र प्रहरीलाई खबर गरेपछि घटना बाहिरियो। रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार पाँचै जनाको फरुवाले हानेर हत्या गरिएको छ। गाईफर्ममै काम गर्ने सिंजालीले हत्या स्विकार गरेको खत्रीले बताउनु भएको छ ।

सिंजालीलाई फर्मकै गहुँको भुस राख्ने कोठाबाट पक्राउ गरिएको थियो। त्यही लुकेर बसेका उनी पक्राउ पर्दा अचेत अवस्थामा थिए। अस्पतालमा पुगेपछि होस खुलेपछि प्रहरीले बयान लिएको थियो। सिंजाली दुई महिना पहिला मात्रै त्यहा आएका थिए। फर्ममा काम गर्ने एकजना भारतीय कामदार लकडाउनले उतै थुनिएपछि सिंजालीलाई राखिएको सञ्चालक रामबहादुर पुनले बताउनुभयो। उनी गोठमा दूध दुहुने र गोवरसोत्तरको काम गर्थे ।

पुन दाजुभाइले कुखुराको फर्म हटाएर गाई पाल्न थाल्नुभएको थियो । मुसहर दम्पती पनि पुनः गाईफर्म सुरु गरेपछि काम गर्न आउनु भएको थियो। माधवको घर सैनामैना हो। विपन्नता र ससुराली पनि उतै भएकाले गाईफर्ममै काम गरेर बस्नुभएको थियो थियो। सिंजालीले दूध दुहिने काम गर्नुहुन्थ्यो । मुसहर दम्पत्ती घास र थरी व्यवस्थापनमा हुन्थे। पोषराज गाईफर्मको विश्वासिलो पात्र हुनुहुन्थ्यो । तालाचावी उहाँसैसँग हुन्थ्यो।

प्रहरीले हत्याको कारण अझै पहिचान गरेको छैन। गोवरसोत्तर गर्ने सामान्य रिसइबीले हो या अन्य कारणले हत्या भयो भन्ने खुलेको छैन। हत्यामा एक्लै व्यक्ति थिए कि अरु पनि थिए भन्ने आकलन भएको छैन। पाँच जनाको कोदालोले हानेर हत्या गर्नु आश्चर्य भएको प्रहरी अधिकारीहरु बताउछन्। घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट एसएसपी राजकुमार बैदवार र रुपन्देहीका प्रहरी प्रमुख हेम थापाको टोली खटिनुभएको छ ।