जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार १४:५८

नापीका सुब्बाको कमाइ देखेर अख्तियार नै चकित


काठमाडौं, जेठ २८ । नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेले २२ वर्ष सार्वजनिक सेवा गर्दा ७ करोड १७ लाख ४१ हजार कमाएको देखिएको छ । अख्तियार दुरुप्योग अनुसन्धान आयोगले काफ्लेबिरुद्ध मुद्दा दायर गरेसँगै यस्तो तथ्य खुलेको हो ।

अख्तियारका अनुसार काफ्लेको कमाईमध्ये १ करोड ७४ लाख १४ हजारको मात्रै स्रोत खुलेका छ । बाँकी साढे ५ करोड अकुत सम्पत्ति आर्जन गरेको पाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार बिगो कायम गैरकानूनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले काफ्लेकी पत्नी सुशीलालाई प्रतिवादी बनाइएको छ। भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशिलाको नाममा ३३ कित्ता भन्दा बढी जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्यून रकम देखाई जग्गाधनीलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानको क्रममा जग्गा बिक्रेताको बयान र भुक्तानी भएका चेक तथा बैंक स्टेट्मेन्टबाट अकुत सम्पत्ति पुष्टि हुन आएको अख्तियारको भनाई छ ।

काफ्लेले २०५४ पुस १ देखि २०७६ वैशाख ३० सम्मको अवधिमा १ करोड ७४ लाख १४ हजार वैध आय आर्जन गरेको देखिएको छ । उनले यो अवधिमा ७ करोड १७ लाख ४१ हजार कमाएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। जसमा ५ करोडढ ४३ लाख २७ हजार बराबरको ब्यय तथा लगानी (सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उनीविरुद्ध दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्ति समेत जफतको माग दाबी गरिएको छ ।

काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको तथ्य प्रमाणबाट पुष्टि हुन आएको अख्तियारले जनाएको छ । गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिको बिगोबाट खरिद गरी काफ्ले र निजकी एकासगोलकी श्रीमती सुशीलाको नाममा राखेको पाइएको हो ।