जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार २०:५६

कोरोना जितेर घर फर्कनेको संख्या ६ सय ७४ पुग्यो : पछिल्लो २४ घन्टामा भए ९० जना डिस्चार्ज


काठमाडौं, जेठ २८ । कोरोना भाइरसलाई जितेर पछिल्लो २४ घन्टामा ९० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यसरी कोरोना भाइरसलाई जितेर घर फर्कनेमा ८८ जना पुरुष र २ जना महिला रहेका छन । आज डिष्चार्ज भएसँगै हालसम्म नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ६ सय ७४ पुगेको छ ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार आज कोसी अस्पतालबाट ६ जना, कोभिड १९ युनिफाइड कमान्ड बलम्बु अस्पतालबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना, कोभिड १९ अस्पताल जनकपुरबाट ३७ जना, महेन्द्रगेनाइ आइसोलेसन सेन्टर सिरहाबाट २० जना, कोरोना अस्पताल बेलझुण्डी दाङबाट ७ जना डिस्चार्ज भएका छन ।

नेपालमा आरडीटी विधिबाट आजसम्म १ लाख ७२ हजार ८८० नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख १० हजार ७४४ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ७२ हजार २६६ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ३ हजार ६७५ जना रहेका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर र अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा, स्याङ्जा र चितवनमा १/१ गरी १५ जनाको मृत्यु भएको छ ।