जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार १४:०६

राजनीतिक कोरोनासँग लड्न सरकार तयार : स्वास्थ्यमन्त्री ढकाल


काठमाडौं, जेठ ३०

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश भएकाले अब छुट्टै मोडालिटी अपनाइने बताउनु भएको छ । कोरोनासँग मात्र लड्दै आएको सरकारले अब राजनीतिक कोरोनासँग पनि लड्ने बताउनु भयो ।

शुक्रबार मन्त्रालयमा कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप सार्वजनिक गर्दै मन्त्री ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न भने कठिन भएको उल्लेख गर्नुभयो । ‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौ’, उहाले भन्नुभयो ।

मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताउनुभयो । पछिल्लो एक दुई दिनका घटना हेर्दा नेपालमा कोरोनामा राजनीति प्रवेश भएको देखिएको मन्त्री ढकालले बताउनु भयो ।