जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतबार ००:००

अर्थमन्त्री खतिवडाको निश्कर्ष : अस्वभाविक नाफामा जान खोजे उद्योग तथा बैंकहरु अफ्ठ्यारोमा पर्न सक्छन


काठमाडौं, जेठ ३२ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गर्नुभएको आर्थिक विधेयक २०७७ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक बहुमतले पारित भएको हो ।

यसअघि आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनिककरण गर्दै व्यवसाय सुचारु गरिने बताउनुभयो । संसदमा सबै दलहरु मिलेर जाने अभ्यास सुरु भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले यसका लागि पनि सबै दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । अर्थमन्त्री खतिवडाले कडा लक डाउनका कारण बैशाख र जेठ महिनामा केही अफ्ठ्यारो भएपनि अब व्यवसायिक वातावरण खुला भएकोले आन्तरिक व्यापार र भन्सार आयातमा पुरानै अवस्थामा फर्किने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले बैँकहरुलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको पनि बताउनुभयो । अर्थमन्त्री खतिवडाले अहिलेको परिस्थितिमा अस्वभाविक नाफाको अवस्थामा जान खोजे उद्योगहरु टाँट पल्टिने र बैंकहरु पनि अफ्ठ्यारोमा पर्ने बताउनुभयो । उहाँले जेठ महिनाको राजस्वको संकलन दरले दैनिक खर्च उठाउने अवस्था नरहेको बताउनुभयो । मासिक ४० अर्ब अनिवार्य दायित्वमा खर्च हुने गरेको अवस्थामा भन्सारबाट १५ अर्ब र आन्तरिक राजस्वबाट केही अर्व मात्रै संकलन हुने गरेको बताउनुभयो ।