जनता टाइम्स

२ असार २०७७, मंगलवार ०९:२५

आज र भोलि वर्षा हुने, सतर्क रहन विभागको अनुरोध


काठमाडौं, २ असार । मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि झरी पर्ने मौसमविदले जनाएका छन् । विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज (मंगलबार) देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने उहाँको भनाइ छ । कतै कतै ठूलो पानी पनि पर्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन पनि मौसमविद् मानन्धरको आग्रह छ । अब विस्तारै पश्चिमी वायुको प्रभाव कम हुँदै जाने र मनसुनी वायु सक्रिय हुने उहाँले जानकारी दिनुभयो ।