जनता टाइम्स

३ असार २०७७, बुधबार ०९:४२

पूर्वमन्त्री गजुरेलसहित चारै सांसदमाथि नेकपाले थाल्यो कार्वाही प्रकृया : सोधियो लिखित स्पष्टिकरण


काठमाडौं, असार ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको मतदानमा अनुपस्थित हुने आफ्ना सांसदहरूलाई स्पष्टिकरण सोधेको छ । नेपाली भूमि समेटेर सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशाना छाप परिमार्जन गर्नका लागि गरिएको संविधान दोस्रो संशोधन विधेयकको मतदानमा अनुपस्थित हुने सांसदहरुलाई नेकपाले स्पष्टिकरण सोधेको हो ।

संबिधान संशोधन बिद्येयकमाथिको जेठ ३१ गते मतदान भएको थियो । मतदानमा पूर्व कृषिमन्त्री हरिबोल गजुरेलसहित नेकपाका चार जना सांसद अनुपस्थिति रहेका थिए । गजुरेलसहितका चारै जनालाई नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले लिखित स्पष्टीकरण सोध्नुभएको हो । प्रतिनिधिसभामा भएको मतदानमा गजुरेलसहित गोपालबहादुर बम, धनबहादुर बुढा र शिवकुमार मण्डल अनुपस्थित हुनुहुन्थ्यो । यति गम्भीर बिषयमा भएको मतदानमा अनुपस्थित भएपछि नेकपाका कार्यकर्ताहरुले कार्वाहीको माग गरेपछि संसदीय दलले स्पष्टिकरण सोधेको हो ।

‘जेठ ३१ को प्रतिनिधि सभा बैठकमा उपस्थित भई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्वीप जारी गरेकोमा उक्त दिन तपाईं प्रतिनिधि सभाको बैठकमा बिना पूर्वसूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रकृयामा नै सहभागी नरहनुभएको देखियो । अतः दलको विधान, दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनु भएको हो ? पत्र प्राप्त भएको मितिले पाँच दिनपभित्र दलको कार्यालयमा उपस्थित भइ लिखित स्पष्टिकरण दिनुहुन निर्देशन गरिन्छ,’ यी सांसदहरूलाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ ।

नेकपाले कार्वाहीका पूूर्वतयारी स्वरुप लिखित स्पष्टिकरण सोधेको हो ।