सप्तरी, असार २ । कोरोना भाइरसको पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका राजविराज १ डुमरी शिवथानका ३० वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिएसँगै ती युवकको घर परिवारलाई समेत मङ्गलबार राजविराजको क्वारेन्टाइनमा ल्याइएको छ ।
पीसीआर रिपोर्ट आउनु एक दिन अगाडि घर पुगेका युवकको रिपोर्ट पोजिटिभ आएपछि आमा, श्रीमती, छोरा र छोरी तथा उनको कपाल, दाह्री काटने ठाकुरलाई समेत क्वारेन्टाइनमा ल्याइएको राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक निरञ्जनप्रसाद यादवले जानकारी दिनुभयो । युवकलाई भने राजविराजस्थित आइसोलेसन केन्द्र पठाइएको छ । यादवका अनुसार युवकको सम्पर्कमा आएका उनका साथी वा अन्य व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ कार्य अघि बढाइएको छ ।
भारतको पञ्जाबस्थित जमुनानगरबाट ५१ वर्षीय बुवासँग फर्केका युवक जेठ १३ गतेदेखि राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रमा सँगै बसेका थिए । युवकको पीसीआर रिपोर्ट नआए पनि बुवाको नेगेटिभ रिपोर्ट आएपछि उनी समेत डिस्चार्ज भएर घर गएका हुन । नेगेटिभ रिपोर्ट आएकालाई घर पठाइरहेका बेला युवक झुक्किएर निक्लिएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन । ‘बुवाको रिपोर्ट नेगेटिभ आएपछि सँगै बस्ने आफ्नो पनि रिपोर्ट नेगेटिभ आउने विश्वासमा युवक निक्लिएको हुनुपर्छ,’ क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मी भन्छन ।
स्वास्थ्य सहसंयोजक स्वास्थ्य सहसंयोजक हरीवंश यादवले त्रुटी भएको स्वीकार गर्नुभयो । ‘जे जसरी भएपनि त्रुटी भयो, त्रुटी सुधार्ने काम भइरहेको छ, युवक र उनको सम्पर्कका व्यक्तिलाई क्वारेन्टाइनमा ल्याइएको छ, अरुको पनि खोजी भइरहेको छ,’ यादवको भनाई छ । संक्रमण मुक्त भनेर घर फर्काइएका व्यक्तिमा कोरोना पोजिटिभ भेटिएपछि क्वारेन्टाइनको व्यवस्थापन हेर्नेले गल्ती गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रिपोर्ट नआउँदै घर पठाइएका युवकको भोलिपल्ट रिपोर्ट पोजिटिभ आएको खबरले गाउँमा खैलाबैला मच्चिएको र त्रास बढेको छ ।
यता राजविराज नगरपालिका कार्यालयले राजदेवी मावि क्वारेन्टाइनमा खटिएका हेल्थ असिस्टेन्ट राजकुमार पटेललाई काज फिर्ता गरी विषहरिया स्वास्थ्य चौकी पठाएको छ । रिपोर्ट नआउँदै घर पठाएर गम्भीर लापरवाही भएको भन्दै पटेललाई काज फिर्ता गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्