काठमाडौं, असार ५ । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद विकास कोष) को खर्च नभएको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आयोजिति नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।
मन्त्री खतिवडाका अनुसार असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरी सो रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदका निर्णयअनुसार यस बर्षको कोषको खर्च नभएको बजेट असार १५ गतेभित्र सम्बिन्धत स्थानीय तहको कोरोना कोषमा जम्मा गर्नुपर्नेछ ।
यसअनुसार स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा कुनै कार्यक्रमका लागि आर्थिक वर्ष २०७६/०७७ मा छुट्याएको रकम बचत भएको भए निर्देशक समितिका संयोजक (निर्वाचित सांसद)ले अरू सदस्यसँग परामर्श गरेर सम्बन्धित स्थानीय तहको कोभिड कोषमा जम्मा गर्नुपर्ने प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।
‘यस्तो रकम असार १५ सम्म जम्मा गरिसक्नुपर्नेछ । यसले कोभिड–१९ सँग सम्बन्धित स्रोतको समस्यालाई हल गर्न सहयोग गर्नेछ,’ सरकारका प्रवक्ता खतिवडाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्