काठमाडौं, असार ५
नेपालविरुद्ध कदम चालेकी समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई कानुनी आपत आईलागेको छ । उनलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै महानगरीय प्रहरी परिसर टेकुमा शुक्रबार उजुरी परेको छ ।
नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै शुक्रबार चार जना अधिवक्ताले सांसद गिरीविरूद्ध टेकुमा उजुरी दिएका हुन् । उजुरी परेसँगै अनुसन्धान थालिसकिएको पनि प्रहरीले जानकारी दिएको छ ।
पछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले हालेको संशोधन प्रस्ताव अस्वीकृत भएपछि संसदबाट बाहिरिएर पत्रकारहरूसँग आफ्ना अभिव्यक्ति दिएकी थिइन् । ‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार जाँच गर्नु भएन भने, नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’, गिरीले भनेकी थिइन्, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्यो। महिलाहरूले देश निर्माण गर्नुभयो ।’













प्रतिक्रिया दिनुहोस्