जनता टाइम्स

६ असार २०७७, शनिबार ११:१२

कोरोना पोजेटिभ गर्भवति महिलाको सफल शल्यक्रिया, आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो


सिराज खान\नेपालगञ्ज, असार ६

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा दोस्रो कोरोना पोजेटिभ महिलाको शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ । यसअघि सो अस्पतालमा अछामकी २५ कोरोना पोजेटिभ गर्भवति महिलाको आन्द्राको सफल शल्यक्रिया गरिएको थियो । उनको अझैं सोही अस्पतालमा उपचार भैरहेको छ ।

ती दुवै सङ्क्रमित महिलाको शल्यक्रिया काठमाण्डौ बाहिर पहिलो पटक नेपालगञ्जमा सम्पन्न गरिएको मेडिकल कलेजले जनाएको छ । रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालबाट रिफर गरिएर पठाईएकी कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया गर्भवति महिलाको शनिबार विहान सफल शल्यक्रिया गरेर शिशुलाई बाहिर निकालिएको नेपालगञ्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेषकुमार कनोडियाले बताउनुभयो ।

डा. कनोडियाका अनुसार ३८ हप्ताकी गर्भवति ती महिलाको यसअघि पनि भारतको मुम्बईमा शल्यक्रिया गरेर बच्चा जन्माइएको हुँदा यस पटक पनि शल्यक्रिया गर्नु परेकाले भीम अस्पताललले शुक्रबार उनलाई कोहलपुर शिक्षण अस्पतालमा रिफर गरेर पठाएको थियो ।

गर्भवति महिलाको आकस्मिक शल्यक्रिया गर्नु परेको जनाउँदै सह निर्देशक डा. कनोडियाले मेडिकल कलेजका प्रसुति विशेषज्ञहरु डा. कविता सिन्हा, डा. अमरेन्द्र कुशवाहा, बाल विशेषज्ञ डा. राजेश केसी, एनेस्थेसियोलोजिस्ट डा. रविन श्रेष्ठ, सहायक एनेस्थेसियोलोजिस्ट संगिता गिरी, नर्सहरु सरस्वति श्रेष्ठ र पवित्रा बिष्टको टोलीले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियाबाट दुई किलो ४०० ग्रामको स्वस्थ्य बच्चाको जन्म भएको र अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको डा. कनोडियाले बताउनु भयो । शिक्षण अस्पताल कोहलपुरका अनुसार ती महिला एक महिना अघि मुम्बईबाट फर्किएर बुटवलस्थित क्वारेन्टाइनमा बसेकी थिइन् । उनको पिसीआर परीक्षण गर्दा जेठ ३० कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसअघि अछाम जिल्ला, बयलपाटा अस्पतालबाट रिफर भई कोहलपुरस्थित मेडिकल कलेज अस्पतालमा भर्ना गरिएकी कोरोना पोजेटिभ २५ वर्षीया महिलाको सफल शल्यक्रिया गरिएको थियो । कोहलपुर अस्पतालमा अहिले दुई जना शल्यक्रिया गरिएकासहित तीन जना जटिल अवस्थाका कोरोना पोजेटिभ विरामीहरुको उपचार भैरहेको छ । ती मध्ये एक जना ८२ वर्षीय पुरुष रुकुम सानोे भेरी निवासी पनि हुनुहन्छ । उहाँलाई जेठ ३२ गते भर्ना गरिएको थियो ।

उक्त अस्पतालमा हालसम्म कोरोना पोजेटिभ दुईजना विरामीको मृत्यु भैसकेको र तीनजना उपचाररत रहेकाले उनका सम्पर्कमा आएका ९० जना भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । (गोरखापत्र)