जनता टाइम्स

६ असार २०७७, शनिबार ११:५४

नागरिकतामा नेकपाले लियो कठोर निर्णय : सात वर्षपछि मात्रै अंगीकृत नागरिकता (भिडियोसहित)


काठमाडौं, असार ६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अंगीकृत नागरिकतामा कठोर निर्णय लिएको छ । विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने निर्णय नेकपाले गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सचिवालय बैठकले नागरिकता जस्तो विषयमा लचिलो बन्न नसकिने ठहर गर्दै सात वर्षपछि मात्रै दिने व्यवस्था राख्ने निर्णय गरेको हो । नेपाली कांग्रेसले भने एक हातमा सिन्दुर र अर्को हातमा अंगीकृत नागरिकताको व्यवस्था हुनुपर्ने अडान राखेको छ ।

सचिवालय बैठकले ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

‘संसदमा विचाराधिन गरिकता विधेयकका कतिपय प्रावधानहरूका बारेमा छलफल भयो । नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्नसक्ने अंगीकृत नागरिकताको प्रवधानबारे छलफल गरेर निष्कर्ष निकालिएको छ’, श्रेष्ठले भन्नुभयो, ‘त्यस्तो नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागरकिता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागरिकताका प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो ।’

प्रवक्ता श्रेष्ठका अनुसार ७ वर्षसम्म सामाजिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि नै प्राप्त गर्नसक्ने गरी उहाँहरूलाई आवासीय परिचयपत्र प्रदान गरिने निर्णय पनि सचिवालयले गरेको बताउनु भयो । सचिवालयको निर्णय अनुसार नेकपाका सांसद राज्यव्यवस्था तथा सुशासन समितिमा प्रस्तुत हुने छन् ।

समितिमा नेकपा सांसदको बहुमत रहेकाले त्यहा मतदानबाट टुंगो लाग्ने सम्भावना बढेको छ । नेकपालाई अन्य सांसदले पनि साथ दिएका छन् । नेपाली कांग्रेस र मधेशवादी दलका सांसद मात्र तत्कालै अंगीकृत नागरिकता दिनुपर्ने पक्षमा उभिएका छन् ।