जनता टाइम्स

७ असार २०७७, आईतवार १२:२०

को बन्लान नेपाल प्रहरीको नयाँ आइजीपी ?


काठमाडौं, असार ७ । असार लागेसँगै नेपाल प्रहरीमा नयाँ प्रहरी महानिरीक्षक –आइजीपी) को बन्ला भन्ने चर्चा सुरु भएको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली असार २५ गतेबाट अनिवार्य अवकाश पाउन लागेपछि नयाँ आइजीपीको बिषयलाई लिएर चर्चा सुरु भएको हो ।

नयाँ आइजीपीका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) द्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल मात्रै दावेदार हुनुहुन्छ । आइजीपी ज्ञवालीसँगै एआइजी तारणिप्रसाद लम्साल पनि अनिवार्य अवकाशमा जाने भएपछि पाल र थापामध्ये एक जनाले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नु हुनेछ । यसपटकको आइजिपी बढुवामा सरकारले दुवै जना एक अर्काबिरुद्ध नलागेको कारण बिगतमा भन्दा बिवाद कम देखिएको छ ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका एआइजीद्वय पाल र थापा दुवैले एकअर्काबिरुद्ध प्रचारवाजी नगर्ने र आफ्नो पक्षमा पनि नलेखाउने नीति लिएपछि अघिल्लो पटक जस्तो समाचारको श्रृंखला पनि यसपटक देखिएको छैन । सरकारले नयाँ आइजीपी छान्दा सेवा प्रवेशदेखि हालसम्मको ट्रयाक रेकर्ड हेरेर निर्णय लिने भएको छ । त्यसो त आइजीपी बनाउने बिषयमा यसपटक चलखेलसमेत निकै कम भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा नै ट्रयाक रेकर्डका आधारमा उत्कृष्ट देखिएको ब्यक्तिलाई नेपाल प्रहरीको नेतृत् वगर्ने अवसर दिने निश्कर्षमा रहनुभएको कारण चलखेल नदेखिएको हो । नयाँ आइजीपी बनाउने बिषयमा कँही कतै चलखेल भए सूचना संकलन गर्ने संयन्त्रसमेत बनाएको कारण प्रधानमन्त्री र गृहमन्त्री निकट ब्यक्तिहरु यस बिषयमा पर्न नचाहेका हुन ।

सोही कारण कसैले पनि यही ब्यक्ति आइजीपी हुनुपर्छ भन्दै प्रधानमन्त्री समक्ष भन्न नसकेको स्रोतको भनाई छ । ‘यही ब्यक्ति बनाउने भन्ने छैन, ट्रयाक रेकर्डमा जो अगाडि आउँछन, तिनै ब्यक्ति नै नेपाल प्रहरीको आइजीपी हुनेछन, प्रधानमन्त्रीको प्रष्ट लाइन यही छ,’ गृह मन्त्रालय निकट स्रोतले जनताटाइम्ससँग भन्यो । स्रोतका अनुसार ट्रयाक रेकर्डमा अब्बल नै नयाँ आइजीपी हुनेछन । भावी आइजीपीका रुपमा दावेदार रहनुभएका पाल र थापा हाल प्रहरी प्रधान कार्यालयको दुई ओटा महत्वपुर्ण बिभागको नेतृत्व सम्हालिरहनु भएको छ । पाल कार्य एवं अपराध अनुसन्धान बिभाग प्रमुख हुनुहुन्छ भने थापा मानव स्रोत एवं प्रशासन बिभाग प्रमुख हुनुहुन्छ ।