जनता टाइम्स

१० असार २०७७, बुधबार ११:२५

दलहरुसँग सामुहिक छलफल गर्दै राष्ट्रपति, यस्ता छन् एजेण्डा


काठमाडौँ, असार १०

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलसँग सामुहिक छलफल गर्नुहुने भएको छ । त्यसका लागि उहाले सबै दलका शिर्षस्थ नेतालाई बुधबार साँझ भेटघाटका लागि शीतल निवास बोलाउनु भएको हो ।

राष्ट्रपति भवनमा हुने भेटघाटमा पछिल्लो समय दलहरुबीच नक्सा पासमा देखिएको राष्ट्रिय सहमतिका लागि धन्यवाद दिने र पछिल्लो राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्‌का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउनलगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि बुधबार साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको हो । लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।