जनता टाइम्स

११ असार २०७७, बिहीबार १३:०७

कोरोना संक्रमितको संख्या १ करोड नजिक, विश्वभर अक्सिजन अभाव हुने डब्लूएचओको चेतावनी


काठमाडौं, असार ११

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारभरमा कोरोना संक्रमितको संख्या १ करोडको हाराहारीमा पुग्न लाग्दा अक्सिजन कन्स्ट्रेटर (अक्सिजन दिने मेसिन) अभाव भइरहेको जनाएको छ । डब्लूएचओका महानिर्देशक टेड्रोस एडहानोम गेहब्रेससले एक पत्रकार सम्मेलनका क्रममा भन्नुभयो, ‘केही देश अब अक्सिजन कन्स्ट्रेटर मेसिनको अभावको सामना गरिरहेका छन् । यो समयमा मेसिनको माग आपूर्तिभन्दा बढी भएको छ ।’

उहाँले अहिलेसम्म विश्वमा करिब ९५ लाख मानिस संक्रमित भइसकेको र ४ लाख ८४ हजारभन्दा बढीको मृत्यु भइरहेको भन्दै हरेक सातामा १० लाख संक्रमित भइरहेको बताउनुभएको छ। संक्रमितको संख्या बढ्दोमात्रामा रहेका कारण प्रतिदिन ८८ हजारभन्दा बढी अक्सिजन सिलिन्डर र ६ लाख २० हजार क्युबिक मिटर अक्सिजन आवश्यक परिरहेको जानकारी दिनुभयो । उहाँले थप्नुभयो, ‘अहिले पनि कयौं देशले अक्सिजनको अभाव झेलिरहेको छन् तर अबको केहि समयपछि विश्वभर नै अक्सिजनको अभाव हुनसक्छ ।’

विश्वमा प्रत्येक दिन ढेड लाख बढि संक्रमित थपिने गरेका छन् भने हरेक हप्ता करिब १० लाख संक्रमित फेला पर्ने गरेका छन् । यो जटिल परिस्थितीलाई ध्यानमा राखेर अक्सिजन उत्पादन गर्ने मेसिन बनाउनतर्फ ध्यान दिन पनि आग्रह गर्नुभएको छ । विश्वमा प्रत्येक दिन ८८ हजार बढी अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजन जरुरी छ । तर सो माग पूर्ति हुन सकेको छैन । एजेन्सी