जनता टाइम्स

११ असार २०७७, बिहीबार १६:४३

नेकपा बैठकमा त्यो कुराले छायो सन्नाटा


काठमाडौं, असार ११ । एउटा पीडादायी घटनालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सन्नाटा छाएको छ । केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडालले रुकुम नरसंहारमा मारिएका नवराज बिकसहितका परिवारका सदस्यहरुको फेहरिस्त राख्दै पार्टीको ध्यान नपुगेको बिषयमाथि गम्भीर रुपमा आफ्ना कुरा राखेपछि बैठकमा सन्नाटा छाएको हो ।

नेकपाका एक नेताका अनुसार बैठकमा नेता बडालले माथिल्लो जातकी प्रेमिका लिन जाँदा चरम यातनासहित मारिएका जाजरकोटका युवा नवराज बिकको परिवार, उनको स्वभाव र राजनीतिक रुपमा देखिएको चेत एवं मेहनतको बिषयमा तथ्यसहित आफ्ना कुरा राख्नुभएको थियो । बडालले ज्यान गुमाएका नवराजका हजुरबुवा । हस्तबीर नेपाली र बुवा मुललाल नेपाली दुवै नेकपाको संगठित सदस्य रहेको भन्दै यस हत्याकाण्डमा पार्टीको पनि छानविन हुनुपर्ने बताउनु भएको थियो ।

‘नवराज बिकको जसरी हत्या भयो, त्यो सामान्य होइन, नवराजको परिवारले नेकपाका लागि गरेको योगदानकै हत्या भयो, यो सामान्य बिषय होइन,’ बैठकमा बडालको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्ससँग भन्नुभयो, ‘नेकपाबाट नेकपाको हत्या भयो, नवराजका हजुरबुवा र बुवा दुवै तात्कालिन नेकपा एमालेको संगठित सदस्य हुनुहुन्थ्यो, यस्को अर्थ उहाँहरु नेकपाको सदस्य हुनुहुन्छ, ज्याँदै दुःख गरेको कमरेडहरु हो उहाँहरु दुवै, नवराज पनि यसरी नै दुःख गरेर पार्टी बनाउने अभियानमा हुनुहुन्थ्यो, तर उहाँकै हत्या हाम्रै नेकपाकै मान्छेबाट भयो, यस्मा पार्टीले खासै चासो दिएन, अव यस्तो भुल कहिल्यै नहोस ।’

बडालले निकै भावुक बनेर नवराजको हत्याले पार्टीमा इमान्दारितापुर्वक काम गर्ने सदस्यहरुको मनोवन समाप्त पारेको भन्दै आफ्नो धारणा राखेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डदेखि सवै नेता भावुक बन्नुभएको थियो । ती नेताका अनुसार बडालले नवराज बिक हत्याकाण्डबारे सबिस्तार आफ्नो धारणा राख्दा अध्यक्ष प्रचण्ड निकै भावुक बनेर बडालतिर हेरिरहनु भएको थियो ।

‘बडाल कमरेडले जसरी नवराज बिकको परिवार, नवराजको शैली र रुकुम हत्याकाण्डबारे धारणा राख्नुभयो, अध्यक्ष प्रचण्ड कमरेडको आँखा उहाँतिरै थियो, निकै भावुक पनि बन्नुभयो, सायद रुकुममा निकै ज्याद्धतीपुर्वक नवराजको हत्या भएको पीडा उहाँमा देखियो,’ ती नेताले भने । बुधवार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो धारणा राख्नुअघि एजेण्डाकै बिषयमा बडालसहित १७ जनाले बोल्नुभएको थियो ।