काठमाडौँ, असार १२
नेपालको कुल जनसख्या अनौपचारिक रुपमा शुक्रबारबाट तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडी अनुसार शुक्रबार देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको हो ।
राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको छ । ९ वर्षअघि गरेको जनगणना अनुसार बसाइँसराइँ, जन्म र मृत्युदरलाई आधार मानेर जनसंख्या घडी निर्धारण गरिएको थियो । जसमा दैनिक औसतमा एक हजारदेखी ११ सय जनसख्या थपिने गरिएको छ । त्यसैअनुसार देशको जनसंख्या आजबाट तीन करोड नाघेको छ ।
कुनै पनि व्यक्ति अक्सर बसोबास (६ महिनाभन्दा बढी) गरेको स्थानबाट उसको गणना गर्ने गरिन्छ । ०६८ को तथ्याङ्कमा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला छन् । त्यसैगरी पुरुष ४८ दशमलव ५ प्रतिशत छन् । जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाएको छ । देशभरिमा १२५ जातजाति र १२३ भाषा बोल्ने छन् ।
आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ । जन्मदर घट्दो छ । जनगणना–२०५८ ले वार्षिक जनसंख्या वृद्धिदर २ दशमलव २५ देखाएको थियो भने दश वर्षमा शून्य दशमलव ९ विन्दुले जन्मदर घटेको देखिन्छ ।
मृत्युदर पनि उस्तै घटेको छ । अहिलेको तथ्यांकअनुसार सरदर आयु करिब ६७ वर्ष रहेको छ । जसमा महिलाको ६८ वर्ष र पुरुषको आयु ६५ वर्ष छ ।अघिल्लो दश वर्षको तुलनामा जनसंख्या बढे पनि मुलुकको २७ जिल्लामा जनसंख्या घटेको छ । दश वर्षको अन्तरमा सहरमा बसोबास गर्ने जनसंख्या १३ दशमलव ९ बाट बढेर १७ दशमलव ०७ प्रतिशत पुगेको छ ।
दश वर्षमा काठमाडौं जिल्लाको जनघनत्व ६१ दशमलव २३ प्रतिशतले बढेको थियो भने मनाङको जनघनत्व ३१ दशमलव ८० प्रतिशतले घटेको थियो । कुल भूभागको १७ प्रतिशतमात्र ओगटेको तराईको जनसंख्या चाप ५० दशलमव २७ प्रतिशत छ । जनघनत्व प्रतिवर्गकिलोमिटर १ सय ८० जनसंख्या बसोबास गर्दछन् ।
१९६८ सालदेखि हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागले आउँदो वर्ष १२औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म सम्पन्न गर्ने तयारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्