जनता टाइम्स

१२ असार २०७७, शुक्रबार १५:४५

स्थायी कमिटी बैठकमा यसकारण अनुपस्थित भए प्रधानमन्त्री ओली : यस्तो छ दुई अध्यक्षबीचको सहमति


काठमाडौं, असार १२ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डबीच स्थायी समिति बैठक प्रचण्डले सञ्चालन गर्ने सहमति भएको छ । शनिवार भएको छलफलको सहमतिका आधारमा प्रधानमन्त्री ओली आजको स्थायी समिति बैठकमा नजानुभएको हो ।

दुई अध्यक्षबीच बिहीवार दुई घण्टा लामो बार्ता भएको थियो । बार्तापछि पार्टीका कार्यकारी अध्यक्षको जिम्मेवारीमा रहनुभएका प्रचण्डलाई बैठक सञ्चालनको जिम्मा दिइएको हो । छलफलमा आवश्यकताअनुसार बैठकमा प्रधानमन्त्री ओली आउने तर बैठक भने प्रचण्डले सञ्चालन गर्ने सहमति भएको हो । पर्यटन संस्कृति तथा नागरिक उड्ययनमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य योगेश भट्टराईले दुई अध्यक्षबीचको सहमतिका आधारमा प्रधानमन्त्री ओली आजको बैठकमा अनुपस्थित हुनुभएको जानकारी दिनुभयो ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँगको सल्लाहमै आजको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएको मन्त्री भट्टराईको भनाइ छ । मन्त्री भट्टरार्यले अध्यक्ष तथा प्रधानमन्त्री ओली सरकारको काम पनि गर्नुपर्ने भएकोले कार्यकारी अध्यक्ष प्रचण्डसँगको सहमतिमा आवश्यकता अनुसार बैठकमा आउनुहुनेछ । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष सहमतिमै अनुपस्थित हुनुभएको हो, आवश्यकता अनुसार आउनु हुन्छ, यस्मा थप कुरा आवश्यक छैन,’ भट्टराईको भनाई थियो ।

आजको बैठकमा अहिलेसम्म १० जना सदस्यले आफ्नो विचार राख्नुभएको छ । भट्टराईका अनुसार बैठकमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीीसहित पम्फा भुषाल, बेदुराम भुषाल, अमृतकुमार बोहोरा, लीलामणि पोखरेल, मात्रिका यादव, रघुवीर महासेठलगायत १० जनाले एजेण्डामा केन्द्रित रहेर आफ्नो धारणा राख्नुभएको छ । बैठकमा नेताहरुले सीमा समस्या, कोरोना भाइरसविरुद्धको अभियान र सरकारका कामको समीक्षाका विषयमा आफ्नो धारणा राख्नुभएको हो । नेकपाको स्थायी समिति बैठकमा हरेक सदस्यका लागि एजेण्डामा केन्द्रित रहेर आफ्नो धारणा राख्न १० मिनेटको समय निर्धारण गरिएको भट्टराईले जानकारी दिनुभयो ।