जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १६:४७

शिक्षा प्राप्त गर्न विदेश जाने बाध्यता हटाउनुपर्छ – प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताउनुभएको छ । ‘कान्तिपुर हिसान एडु फेयर’को बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ज्ञानको विरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जानुपर्ने कुरा सुहाउदो नभएको बताउनुभएको छ ।

“देशलाई चाहिने शिक्षा यहीँ पाउनु पर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो–“कुनै विशिष्ट प्रकारको प्राविधिक शिक्षा लिन विदेश जाने कुरा बेग्लै हा,े तर सामान्य बिषय अध्ययनका लागि विदेश जाने चलन हटाउनु पर्दछ । त्यसैले हामीले विदेशमा जतिकै गुणस्तर दिन सक्ने शैक्षिक संस्था नेपालमै खोल्नु पर्दछ ।”

सरकार निजी शिक्षाको विपक्षमा नभएको तर सामुदायिक शिक्षाको गुणस्तर उकास्न क्रियाशिल रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “निजी शैक्षिक संस्थालाई हामी जबरजस्ती बन्द गर्न भन्दैनौ तर सामुदायिकको गुणस्तर उकासेर निजीमा जानै नपर्ने स्थितीको सृजना गर्दछौं ।”

प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, विकास जस्ता क्षेत्रमा सरकारर निजी क्षेत्रसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । “शिक्षा, स्वास्थ्य, विकास जस्ता क्षेत्रमा लगानी गर्नुहोस्, सरकार तपाईंहरुलाई प्रोत्साहित गर्दछ । त्यती मात्र होइन तपाइृंहरुको लगानीको सुरक्षा र संरक्षण पनि गर्दछ” प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शिक्षा प्रतिष्पर्धी, रोजगारमुलक र राष्ट्रिय भावना जगाउन सक्ने हुनु पर्ने बताउनुभएको छ । “हामीले कुनै बिषयका पिएचडी उत्पादन गरेर मात्र हुँदैन । उनीहरुलाई देशभक्त र निष्ठावान नागरिक हुने शिक्षा पनि दिनु पर्दछ ।”