जनता टाइम्स

१३ असार २०७७, शनिबार ०६:३६

भीम रावल जंगिए, माधव-झलनाथले ताली बजाए


काठमाडौं, असार १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायीकमिटी बैठकमा थरिथरिका दृष्य देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा एजेण्डा भन्दा प्राविधिक बिषयमा मुखको स्वाद फेर्ने र भडाँस पोख्ने क्रमलेतीब्रता पाएपछि कुर्सी ब्यवस्थापनदेखि नेताहरुको मर्यादाक्रमको बिषयलाई लिएर रमाइलो दृष्य देखिएको हो ।

एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार शुक्रवारको बैठकमा दुई अध्यक्षको सोफालाई लिएर भीम रावलले गम्भीर रुपमा कुराउठाउनु भएपछि बैठकको माहोल नै फेरिएको थियो । बैठकमा रावलले अध्यक्षका लागि सोफा, वरिष्ठ नेतासहित अन्य सचिवालय सदस्यका लागि कुर्सी र स्थायी समिति सदस्यका लागि बेन्च राखेको भन्दै जंगिनुभएको थियो । रावलको आपत्तिसँगै अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफू बस्ने सोफा हटाएर कुर्सी राख्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली कार्यब्यस्थताले बैठकमा अनुपस्थित भएको बेला अध्यक्ष प्रचण्डले आफ्ना लागि पनि सोफाको साटो कुर्सी ब्यवस्थापन गर्न आदेश दिएपछि दुवै अध्यक्षको लागि ब्यवस्थापन गरिएको सोफा हटाइएको ती नेताले बताए ।

भीम रावल कमरेडले गम्भीर ढंगले कुरा उठाउनु भयो, अध्यक्ष प्रचण्ड कमरेडले तत्कालै आफ्ना लागि कुर्सी फेर्न आदेश दिनुभयो, उहाँको यो आदेशसँगै माधव नेपाल र झलनाथ खनाल कमरेडहरुले ताली बजाउनु भयो, ती नेताले जनताटाइम्ससँग भने । उनका अनुसार अध्यक्ष प्रचण्डले आफ्ना लागि कुर्सी फेरेसँगै नेकपा केन्द्रीय कार्यालय सचिव इश्वरी रिजालले प्रधानमन्त्रीका लागि राखिएको पनि हटाउन लगाउनु भएको थियो ।

बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले अध्यक्षलाई कुर्सी र जीवनशैली फेर्न सुझाव दिनुभएको थियो । रावलले अध्यक्षलाई राजा महाराजाको जस्तो सम्मान र नेतालाई दोस्रो दर्ताको जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाएपछि प्रचण्डले तत्कालै कुर्सी परिवर्तनको निर्णय लिनुभएको हो । सोफा हटाएपछि अध्यक्ष प्रचण्डले वरिष्ठ नेता र सचिवालय सदस्य बस्ने कुर्सीमै बसेर बैठकको अध्यक्षता गर्नुभएको थियो । कुर्सी अगाडि पछाडि भएको र मर्यादाक्रम नमिलेको भन्दै नेताले प्रश्न गरेपछि वरिष्ठ नेतालाई अध्यक्षसँगै दुईतर्फ राखिएको थियो। शुक्रवारको बैठकमा सीमा समस्या समाधानमा केन्द्रित रहेर १८ जना सदस्यले आफ्नो धारणा राखेका थिए ।

बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री ज्ञवाली, स्थायी कमिटी सदस्यहरु लिलामणि पोखरेल, केशव बडाल, मातृका यादव, देव गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विक, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृत बोहरा, भीम रावल, मुकुन्द न्यौपाने, भीम आचार्य, अष्टलक्ष्मी शाक्य र गणेश शाहले आफ्नो धारणा राख्नुभएको थियो ।