जनता टाइम्स

१३ असार २०७७, शनिबार १५:३८

भारत खुशी पार्न कस्ले माग्लान प्रधानमन्त्रीको राजीनामा ?


काठमाडौं, असार १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी रहेको बेला भारतले झण्डै आधा दर्जन नेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध परिचालिन हुन गोप्य निर्देशन दिएको रहष्य खुलेको छ ।

लामो समयदेखि भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुका साथै राष्ट्रिय सहमतिका साथ संबिधान संशोधन गर्नु र नेपालीसँग बिवाह गरेर आउने बिदेशी महिलालाई सात बर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय लिएपछि भारतको निशानामा प्रधानमन्त्री ओली पर्नुभएको छ । स्रोतका अनुसार नेपालस्थित भारतीय दुतावासका पदाधिकारीले नेकपाका केही नेतामार्फत प्रधानमन्त्री ओलीको राजीनामा माग्ने काम गर्न निर्देशन दिएको हो ।

गत बुधवारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठक जारी रहको छ । शुक्रवारबाट बैठकमा स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । नक्सा रोक्न र आफ्नो धाहनाअनुसार नेपालमा नागरिकताको प्रावधान लागू गराउन चलखेल गरिरहेको भारतले दुवै कुरा असफल भएपछि अव ओलीलाई असफल बनाउन आफ्नो रणनीति उहाँकै बिरुद्धमा केन्द्रित गरेको हो । ‘नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीको लागि निकै असहज हुनेछ, हाम्रा सहयोगी मित्रहरुले राजीनामासम्म माग्नेछन,’ भारतीय दुतावासका पदाधिकारीको भनाई उधृत गर्दै स्रोतले जनताटाइम्ससँग भन्यो ।

स्रोतका अनुसार भारतीय दुतावासका अधिकारीहरुले सात जना नेकपाका नेताहरुलाई बैठकको पूर्वसन्ध्यामा भेटघाट गरिसकेको छ । तराई मधेशका दुई जनासहित सात जना नेतालाई भारतीइ दुतावासका पदाधिकारीले भेटेर बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध एकोहोरो प्रहार गर्न र राजीनामा माग गर्न भनेका हुन । त्यसो त दुतावासकै सुचनाका आधारमा भारतीय सरकार निकटका मिडियाहरुले नेकपाको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको भन्दै ब्रेकिङ न्यूज दिएका थिए । त्यसयता भारतीय मिडिया लगातार प्रधानमन्त्री ओलीबिरुद्ध बिष बमन गर्न समय खर्च गर्दै भारत सरकार प्रधानमन्त्री ओलीबिरुद्ध मिसन बनाएरै परिचालित छ भन्ने प्रमाणित गरेका छन ।

भारतले सरकारलाई घेरावन्दी गरी आफ्नो स्वार्थ अनुसार काम गर्न बाध्य पार्ने रणनीति बिफल भएपछि अव नेकपाभित्र नै आफ्नो स्वार्थ पूरा गर्न सिखण्डीको खोजी गरिरहेको स्रोतले बतायो । ‘जतिसुकै अफवाह फैलाए पनि सकिएन, अव नेकपाभित्रै खेलेर ओलीलाई हटाउन सकिन्छ कि भनेर भारत लागेको छ, यो तथ्य हो,’ नेकपा स्थायी कमिटीका एक नेताले जनताटाइम्ससँग भन्नुभयो, ‘भारत खुलेरै ओलीको बिरुद्धमा लागेको छ, नेकपाभित्रै पनि खेलेको छ, राजीनामा माग्न लगाउने भन्ने पनि सुनिएको छ, स्थायी समिति बैठक सकिएपछि मात्रै को को त्यता लागेका रहेछन भन्ने थाह हुन्छ ।’

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलको भनाईले पनि नेकपाभित्र प्रधानमन्त्री ओलीको राजीनामा नै माग्ने गरी भारतले आफ्ना केही एजेण्ट तयार पारेको प्रष्ट पार्छ । ‘भारत ओलीबिरुद्ध लाग्नु आधारभुत र तत्कालीन दुबै कारण मजबूत छन । यसबारेमा नेपाली राजनीतिमा सामान्य चासो राख्ने सबैले बुझेको कुरा हो । यो बिषय घाम जस्तै हुँदाहुँदै किन हाम्रो नेतृत्व अहिले बसिरहेको स्थायी कमिटीको बैठकबाट सरकारको असफलता देखाउने, सके दुवै पदबाट हटाउने, नसके एक पदबाट हाटाउन कसम खाँदै बैठकमा छलफल गरिरहेको छ ?’ पोखरेलले भन्नुभएको छ ।