जनता टाइम्स

१३ असार २०७७, शनिबार १६:१०

चित्रबहादुर केसीको ठोकुवा : राजतन्त्र फर्काउन केपी ओलीलाई सरकारबाट हटाउन चाहन्छ भारत


काठमाडौं, असार १३ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर देशमा राजतन्त्र ल्याउन खोजिरहेको ठोकुवा गरेको छ । पार्टीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै शनिबार जनमोर्चा अध्यक्ष केसीले यस्तो निश्कर्ष सुनाउनु गर्नुभएको हो ।

‘भारतले जल, जमिन, जनसंख्यामाथि अतिक्रमण गर्दै आएको छ । राजनीति, प्रशासन तथा स्वतन्त्र वैदेशिक सम्बन्ध माथि योजनाबद्ध प्रकारले हस्तक्षेप गर्दै आएको छ । भाजपाको सरकारले नेपालमा धर्म निरपेक्षताको अन्त्य गरी त्यसको आधारमा राजतन्त्रको पुनस्थापना गर्न प्रयत्न गर्दै आएको छ । त्यसको लागि नेकपाको ओली सरकार बाधा भएको छ र यो सरकारलाई हटाउन चाहेको छ,’ सो पार्टीको निर्णयमा भनिएको छ, ‘त्यसका लागि भारतले नेपालको राजनीति तथा दलगत संरचना समेतमा खेल्ने कुरा कुनै लुकेको कुरा होइन । यो स्थितिमा उनीहरुका निहीत उद्देश्य वा स्वार्थका कारणले यो सरकारलाई अपदस्त गर्ने कुरा सही हुँदैन ।’

केसीले ओली सरकार हटाउने भारतको चाहनाको बैठकले कडा प्रतिवाद गरेको बताउनु भयो । ‘नेपालको आन्तरिक राजनीति वा स्वयं नेकपाको स्वतन्त्र निर्णयबाट सरकार पुनर्गठन वा परिवर्तनको कुरालाई हामीले गलत मान्दैनौँ । आज राष्ट्रविरोधी, दलाल तथा गणतन्त्र विरोधी देशी वा विदेशी शक्ति केन्ऽ बढी सक्रिय भएका छन् । यसतर्फ सचेत बन्नपर्छ । हाम्रो स्पष्ट मत र अडान छ कि यो सरकारलाई समर्थन गरे पनि यसले अपनाउने गलत नीति र कार्यहरुको हामीले जोडदार विरोध गर्दै आएका छौँ, विरोध गर्नुपर्छ । यही द्वन्द्वात्मक राजनीतिक तरिका हो ।’

केसीले सरकारले केही कमजोरीका वावजुद राम्रो काम गरको बताउनु भयो । ‘नेपाली भूमि फिर्ता गर्ने, त्यसका लागि नयाँ नक्सा जारी गर्ने, नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिला ७ वर्षसम्म लगातार नेपालमा बसेको हुनुपर्ने व्यवस्था गर्ने कार्य सकारात्मक र महत्वपूर्ण छन,’ सो पार्टीले भनेको छ ।