जनता टाइम्स

१४ असार २०७७, आईतवार १४:२१

जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो


रत्न र वासुका वारेमा त साथीहरूले केही केही वुझ्नुभएको थियो तर मदन पनि बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन । जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सवै चकित भए । यद्यपि, सम्मेलनले भिडन्तको सामना गर्नुपरेन । कार्यक्रम सुरक्षित र सफलतापूर्वक सम्पन्न भयो । मदनले भने हामी सबैमा एउटा नयाँ छाप छोड्नुभयो

इश्वर पोखरेल

एकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागिसकेको हुनुपर्छ । मध्य वर्षातमा हराभरा वनेका खेतवारी र वन बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णतालाई रोक्न सकिरहेका थिएनन । म भने कहिल्यै नगएका–नपुगेका वस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङको इटहरा गाउँ खोज्दै हिंडिरहेको थिएँ । मेरो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’बाट प्रभावित भई ‘को–अर्डिनेशन केन्द्र’ (कोके) मा भर्खरै सामेल भएका एक जना क्रान्तिकारी ‘जीवन शर्मा’लाई कोकेको ‘तेस्रो सम्मेलन’मा सहभागी गराउने उद्देश्यबाट प्रेरित थियो ।

कुरा के थियो भने– पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको ‘मोर्चा संगठन’सित सम्वन्धित अधिकांश नेता–कार्यकर्ताले भर्खरै ‘विद्रोह’ गरेका थिए । नेतृत्वको ‘अवसरवादी आचरण’का कारण देखाउँदै विद्रोह गरी उनीहरुले ‘झापाली क्रान्तिकारीहरू’ ले गठन गरेको ‘को–अर्डिनेशन केन्द्र’मा सामेल हुने घोषणा गरेका थिए । उनीहरुको संगठन ‘मुक्ति–मोर्चा’ नामले चिनिन्थ्यो । ‘जीवन शर्मा’ त्यही समूहका एकजना अगुवा हुनुहुन्थ्यो र म उहाँलाई सम्पर्क गरी २०३५ साउन ४–९ गते हुन लागेको ‘कोके’ को ‘तेश्रो सम्मेलन’मा सहभागी गराउन गएको थिएँ । सोध्दै–खोज्दै, रात–साँझ गर्दै म ‘जीवन शर्मा’को गाउँ इटहरा पुगें । एकदिनको पखाईपछि कालो टोपी, फिक्का आकासे रंगको टेरिकटनको सर्ट र हाफ प्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई मैले भेटे । आखिर ‘जीवन शर्मा’को नामले मसँग चिनाइएका ती व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदो रहेछ ।

‘कोके’ को ‘तेश्रो सम्मेलन’ अत्यन्त कडा सुरक्षाका वीचमा भैरहेको थियो । हाम्रो कार्यक्रमको छनक पाएर पंचायती व्यवस्थाका पुलिसहरू बाहिर वाक्लो गस्तीमा खटिएका थिए । कार्यक्रम स्थलमा कुनबेला छापा मारिने हो त्यस्को ठेगान थिएन, कुनै पनि वेला छापा मारिन सक्थ्यो । जनस्तरबाट तह तहमा सुरक्षा प्रवन्ध त हामीले गरेका थियौं तर पनि पुलिसहरूको अस्वाभाविक आक्रमणको संभावनालाई टार्न सकिन्नथ्यो ।

हामीले सहभागीहरूकै तर्फबाट थप सुरक्षाको विशेष व्यवस्था गर्यौं । यसका लागि हामीहरूले आफूसँग भएका दुई थान बन्दूक प्रयोग गर्ने निधो भयो । ती बन्दूक प्रयोग गर्ने जानकार साथीहरूको छनौट गरियो, जसमा रत्नकुमार वान्तवा, मदन भण्डारी र संखुवासभाबाट आउनु भएका वासु शाक्यको टीमलाई जिम्मेवारी तोकियो । रत्न र वासुका वारेमा त साथीहरूले केही केही वुझ्नुभएको थियो तर मदन पनि बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन । जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सवै चकित भए । यद्यपि, सम्मेलनले भिडन्तको सामना गर्नुपरेन । कार्यक्रम सुरक्षित र सफलतापूर्वक सम्पन्न भयो । मदनले भने हामी सबैमा एउटा नयाँ छाप छोड्नुभयो– बैचारिक रुपमा प्रखर नेता त उहाँ हुनुहुन्थ्यो नै, आवश्यक परे भौतिक लडाईंका निम्ति पनि तयार नेताका रुपमा हामीले उहाँलाई चिन्यौं ।

‘कोके’ को संगठन विस्तारमा मदनको भूमिका वेगवान थियो । मेची–कोशी अञ्चलका दक्षिणतिरका जिल्ला समेटेर ‘पूर्व–दक्षिण क्षेत्र’ नामको सांगठानिक संरचना खडा गरियो, जसको प्रमुख स्वयं मदन हुनुहुन्थ्यो । आफ्नो क्षेत्र अन्तर्गत पर्ने सबै जिल्लामा नेतृत्वदायी कमिटीहरूलाई पुर्नव्यवस्थित गर्ने काम मदनले पूरा गर्नुभयो ।

२०३५ साल पुस ११–१४ मा ‘कोके’ को राष्ट्रिय सम्मेलनबाट ‘नेकपा (माले)’ को जन्म भयो । मोरङको इटहरामा स्थानीय आधारभूत वर्गका किसानहरूको वस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसको सम्पूर्ण व्यवस्थापनको नेतृत्व मदनले गर्नुभएको थियो । सम्मेलन चलिरहँदा नै एकातिर संखुवासभामा पञ्चायती व्यवस्थाले हरि नेपाल र चन्द्र पुरीको हत्या गर्यो भने अर्कातिर पार्टीभित्र पोलिटव्युरो सदस्य रामचन्द्र यादव र धनुषा जिल्ला कमिटीका सदस्य अशेश्वर यादवले उग्रवामपन्थताको वकालत गरे । त्यसैको समानान्तर मणिलाल राईलगायतका केही साथीहरुले ‘कोके’ ले उग्रवामपन्थता त्याग्न नसकेको भन्दै अलग विचार पनि अघि सारेका थिए ।

‘राष्ट्रिय सम्मेलन’ स्थलमै केही साथीहरुले बाहिर कतै प्राप्त गरेको एउटा लामो पर्चा ल्याउनुभयो– पर्चाको शीर्षक नै ‘पथभ्रष्ट चन्द्र नेतृत्वदायी गुटके उपर गोलावारी करें !’ थियो । त्यसवेला चन्द्रप्रकाश (सीपी) मैनाली पार्टी महासचिव हुनुहुन्थ्यो र, उहाँ बहुचर्चित हुनुहुन्थ्यो । हिन्दीमा छापिएको उक्त पर्चाले हामीलाई अत्यन्त आक्रोशित वनायो । पार्टी स्थापना गर्ने दिनमै रामचन्द्र–अशेश्वरहरूको उग्रवामपन्थी चिन्तन र दक्षिणपंथी चिन्तनको सामना गर्नुपर्ने भयो । त्यसको प्रतिवादमा मदनले सकृयताका साथ भूमिका खेल्नुभयो । हामीले केही समयभित्रै यी दुवै विचारलाई निस्प्रभावी वनायौं ।

२०३९ साल साउन २४ गते– अर्थात्, आजभन्दा ३८ वर्ष पहिले । त्यो दिन मदनको विवाहको आयोजना गरिएको थियो । वेहुली हुनुहुन्थ्यो– विद्या पाण्डे (अर्थात वर्तमान सम्माननीय राष्ट्रिपति बिद्यादेवी भण्डारी) । तत्कालीन नेकपा (माले)को ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’ले विहेको आयोजना गरेको थियो । ‘मध्य दक्षिण क्षेत्रीय कमिटी’का सचिव माधवकुमार नेपाल र सदस्यहरु म र मुकुन्द न्यौपाने– भूमिगत ढंगले आयोजना गरिएको उक्त विवाह समारोहमा सहभागी थियौं । पार्टीका राम्रा समर्थक र सहयोगीहरुको उपस्थितिमा विराटनगरस्थित देवकोटाजीको एकान्तमा रहेको डेरामा विहेको कार्यक्रम आयोजना गरिएको थियो । बेलुकी ८ बजे शुरु गरिएको विहेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि माधवकुमार नेपाल हुनुहुन्थ्यो र कार्यक्रमको सभापतित्व मैले गरेको थिएँ ।

‘पूर्वदक्षिण क्षेत्रीय कमिटी’का सचिव मदन स्वयं बेहुला हुनुहुन्थ्यो भने त्यस कमिटीका अशोक राई, राजेश वान्तवा राई, चित्र निरौला आदि उपस्थित हुनुहुन्थ्यो । परिवारका सदस्यहरुमा मदनका भाई प्रेम र वहिनी गीता मात्र हुनुहुन्थ्यो । बेहुली बन्नु भएकी विद्या त्यसबेला विराटनगर नगर कमिटी तथा मोरङ जिल्ला कमिटीमा संगठित हुनुहुन्थ्यो र मोरङ क्याम्पसको अनेरास्ववियूको राजनीतिक– सांगठानिक काममा नेतृत्व गरिरहनु भएको थियो ।

त्यस दिन विवाह समारोहमा हामी सबैले उहाँहरुलाई ‘क्रान्तिकारी जीवनले सफलता प्राप्त गरोस, देश र जनताको हितमा काम गर्न सक्नुहोस….’ भन्दै शुभकामना व्यक्त गरयौं । उहाँहरु दुबै जनाले पार्टीको झण्डासामु उभिएर प्रतिज्ञा गर्नुभएको थियो । त्यस रात अवेरसम्म हामीहरुले क्रान्तिकारी गीत गायौं– कविताहरु वाचन गर्यौं र, क्रान्तिकारी जोडी उदाहरणीय बनोस भनेर शुभकामना व्यक्त गर्यौं

 

त्यस दिन विवाह समारोहमा हामी सबैले उहाँहरुलाई ‘क्रान्तिकारी जीवनले सफलता प्राप्त गरोस, देश र जनताको हितमा काम गर्न सक्नुहोस….’ भन्दै शुभकामना व्यक्त गरयौं । उहाँहरु दुबै जनाले पार्टीको झण्डासामु उभिएर प्रतिज्ञा गर्नुभएको थियो । त्यस रात अवेरसम्म हामीहरुले क्रान्तिकारी गीत गायौं– कविताहरु वाचन गर्यौं र, क्रान्तिकारी जोडी उदाहरणीय बनोस भनेर शुभकामना व्यक्त गर्यौं । तर, विहेपछिको झण्डै ११ वर्षको अवधिमा मदन–विद्याको जोडीले प्रायः प्रतिकूलता नै झेल्नुपर्यो, अनिश्चितताको स्थितिको सामना गर्नुपर्यो । विहे गरेको ११ वर्ष वित्न नपाउँदै मदनको शहादतपछि विद्याजीले वियोगको पिडा सहेर बस्न बाध्य हुनुपर्यो । पति वियोगको असहज पीडा सहनु परे पनि मदनका सपना र संकल्पलाई पूरा गर्ने परिवर्तित अभिभारासहित विद्या भण्डारी अविचल भएर उभिनु भएको छ । परिस्थिति बदलिएको छ, जिम्मेवारीहरु फेरिएका छन, तर हाम्रा उद्देश्यहरु फेरिएका छैनन् ।

२०४० सम्म मदन केन्द्रीय सदस्य मात्र हुनुहुन्थ्यो । तर वैठकहरूमा उहाँको उपस्थिति र त्यहाँ वैचारिक छलफलहरूमा स्पष्ट दृष्टिकोणका साथ गम्भीर सहभागिताका कारण उहाँ सबैको केन्द्र वन्दै जानुभयो । २०३९ मा सिपीसँगको विवादपछि महासचिव वन्नुभएका झलनाथ खनालको अगुवाइमा पोलिटव्यूरो र मदनको अगुवाइमा जस्तो भएको थियो, केन्द्रीय कमिटी । वैठकमा वहस छलफल हुँदा म लगायतका अरू कति साथीहरू मदनले अगुवाइ गर्ने वहसमा पक्ष भएर उभिदा गौरववोध हुन्थ्यो । पछिपछि त उहाँकै विश्लेषण र दृष्टिकोण नै यति प्रभावी वन्दै जान थाल्यो कि उहाँलाई पोलिटव्युरोमा ल्याउनै पर्ने भयो ।

मदन पोलिटव्यूरोको सदस्य वनेपछि तुरुन्तै पार्टीभित्र वैचारिक नेताका रुपमा स्थापित हुनुभयो । राजनीतिक छलफल थप सशक्त र जीवन्त वन्दै गयो । विगतको समीक्षा गर्ने, पार्टी परिचालनमा योजना निर्माण गर्ने र कार्यक्रमिक विषयहरूलाई अध्यावधिक गर्ने सवालमा उहाँको क्षमता प्रकट हुन थाल्यो । उहाँका यिनै क्षमताले २०४६ को चौथो महाधिवेशनबाट मदन सर्वसम्मतिका साथ पार्टीको महासचिव चयन हुनुभयो ।

चौथो महाधिवेशनबाट मदन सर्वसम्मतीले महासचिव पदमा निर्वाचित भएपछि त्यही सालको अन्त्यतिर भएको ऐतिहासिक जनआन्दोलन पश्चात खुला भएका राजनीतिक पार्टीहरु वैधानिक ढंगले काम गर्न सक्ने भएका थिए । परिवर्तित राजनीतिक अवस्थामा आफ्नै पार्टीभित्र र मुलुकभित्रै देखिएका समकालिन नेताहरूमध्ये पृथक उचाईका साथ मदन सार्वजनिक हुनुभएको थियो । उहाँमाथि सबैको नजर गढेको तथ्यलाई त्यसवेला सहजै वुझ्न सकिन्थ्यो ।

साझा शत्रुका विरुद्धको संघर्षमा निर्णायक रुपमा विजय प्राप्त गर्न विभिन्न वामपन्थी समूहहरूलाई सके एउटै पार्टीमा, नसके पनि एउटै मोर्चामा ल्याउनैपर्छ भन्ने मान्यता थियो– मदनको । सिद्धान्त, कार्यक्रम र अन्य कतिपय विषयहरूमा एउटै धारणा र मान्यता भएका तर कार्यनीतिक प्रश्नहरूमा भने एक ठाउँमा नआइसकेका वाम समूहलाई मित्रवत वहस, छलफल गर्दै नजिक रहने अवस्था सिर्जना गर्नुपर्छ भन्ने मान्यता पनि थियो– मदनको । छरिएका वाम पार्टीहरूलाई गोलवन्द गर्न सक्नुपर्छ, त्यही संयुक्त शक्तिका बलमा मुलुकमा परिवर्तन चाहने अन्य पक्षसित समेत सहकार्य गर्दै राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने निष्कर्षमा हुनुहुन्थ्यो– मदन । यिनै मान्यता र निष्कर्षका आधारमा तत्कालिन नेकपा (माले) ले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सक्यो ।

मदन महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा पुग्ने कुरा कसरी संभव भयो ? त्यसवेला उहाँ केवल उनन्चालीस वर्षको मात्र हुनुहुन्थ्यो । कतिपय मानिसले, यहाँसम्म कि अहिले नेपाल कम्युनिष्ट पार्टीभित्रकै कतिपयले समेत मदनको यो विकासक्रमलाई राम्ररी वुझ्नसकेका छन जस्तो लाग्दैन । मदनको व्यक्तित्व र भूमिकाका सम्वन्धमा आ–आफ्नै धारणा राख्नेहरूको काफी संख्या छ । नेपाल कम्युनिष्ट पार्टीभित्रकै केही मदनको भूमिका र योगदानलाई अवमूल्यन गर्ने खालका पनि देखिएका छन र कतिपयले त उहाँलाई भावनात्मक हिसावले मात्र वुझिरहेका पनि छन् । मदनलाई वुझ्नु एउटा व्यक्तिलाई वुझ्ने जस्तो मात्र कुरा होइन । यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलनभित्रका सही विचारको विकासक्रमलाई–गतिशीलतालाई कसरी वुझ्ने वा वुझ्नुपर्छ भन्ने विषय पनि हो । मदन कम्युनिष्ट आन्दोलनभित्रको व्यक्ति मात्र नभएर, विचार–प्रवृत्तिको अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनुभयो ।

पूर्वीय साहित्य, दर्शन तथा माक्र्सवादी सिद्धान्तको गहन एवं समीक्षात्मक अध्ययनका साथै तिनको सिर्जनात्मक प्रयोग गर्ने प्रतिवद्धताले विकसित भएको व्यक्तित्व हुनुहुन्थ्यो–मदन भण्डारी । नेकपा (एमाले) को महासचिवको जिम्मेवारी लिने स्थानसम्म आइपुग्दाको यात्राक्रमलाई फर्केर हेर्दा मैले उहाँमा रहेको त्यो क्षमतालाई अत्यन्त वेजोड मानेको छु ।

मुलुक ऐतिहासिक जनआन्दोलनको सम्मुखमा थियो । योजनाहरूको कार्यान्वयनमा सामन्जस्यता, पार्टी शक्तिको सही विन्यास, आवश्यक र सम्भव सबै राजनीतिक शक्तिका वीचमा समन्वय आदि विषयमा मदनको नेतृत्वले काँग्रेस र वामपन्थ वीच सहकार्यको मार्गचित तय गर्यो । उहाँको यही वस्तुनिष्ठ विश्लेषणमा आधारित नेतृत्वले २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल वनाउन निर्णायक भूमिका खेल्यो ।

आन्दोलन अगाडि बढाउन हामी विचमा समन्वयका लागि छलफल हुन्थ्यो । तर प्रकृयाको ढिलाईले र विषयलाई वोक्ने प्रतिनिधिको कमजोरीका कारण केन्द्रमा राम्ररी समन्वय हुन सक्दैन्थ्यो । कतिपय वेला त विषयको सार समेत मरिसक्थ्यो । धेरैपटक त्यस्तो समन्वय केन्द्रमा खटिएका राधाकृष्ण मैनालीसँग फिल्डमा काम गर्नेहरूको समूह खासगरी मदन भण्डारी, केपी शर्मा ओली, माधव नेपाल र मेरो ठाकठुक परिरहन्थ्यो । म त्यसवेला काठमाडौं उपत्यकामा आन्दोलन परिचालनको प्रमुख थिएँ ।

२०४६ चैत्र २६ गतेको राजा, काँग्रेस र वाम मोर्चासंगको त्रिपक्षीय संझौतामा जसरी राधाकृष्ण मैनालीले ‘माले’को तर्फबाट भूमिका खेल्नुपर्ने थियो, त्यस्तो गर्न नसकेको, दक्षिणपन्थी औसरवादी रूझान राखेको भन्ने हामीलाई लागेको थियो । हाइकमाण्डसँग परामर्श नगरी वा दिइएको निर्देशनविपरित संझौताका लागि लहसिएको आरोप लाग्यो । मदन पनि राधाकृष्णसँग आक्रोशित नै वन्नुभयो । यही ‘सेण्टिमेण्ट’मा चैत्र २६ गतेको ऐतिहासिक र संयुक्त विजयसभामा राधाकृष्णलाई सभास्थलबाट बाहिर ल्याइयो, वोल्न दिइएन । अहिले मेरो मनमा सँधै एउटा प्रश्न उठिरहन्छ– त्यसवेला मदनसहितका हामीहरूले राधाकृष्णप्रति विवेक पुर्याउन सकेका थियौं कि थिएनौँ ? मदन आफै यसवेला रहनुभएको भए यो प्रशंगका बारेमा कसरी सोच्नुहुन्थ्यो होला ?

२०४७ मा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको माक्र्सवादी समूहका वीचमा एकिकरण हुने स्थिति वन्यो । मदन यी दुई समूहका वीचमा एकिकरण गराएर कम्युनिष्ट आन्दोलनमा इतिहास र उर्जाको सम्मिश्रण गराउने पक्षमा हुनुहुन्थ्यो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका वीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । तर यही काम पुरा गरी छाड्ने संकल्प लिएर मदनले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष वनाउने कुराको पक्षपोषण गर्नुभयो । आफू महासचिव बनेर पार्टीलाई नेतृत्व दिने कुरामा उहाँ संकल्पवद्ध हुनुहुन्थ्यो ।

यसपछि मनमोहन अधिकारीलाई साथमा लिएर देशव्यापी रूपमा एकिकरणको सन्देश सभाहरू गर्दै मदन निस्कनुभयो । सूदुर पूर्वदेखि सूदुर पश्चिमसम्म मनमोहन अधिकारीलगायतका नेताहरुलाई साथमा लिएर उहाँ एउटा राष्ट्रिय अभियानमा निस्कनु भएको थियो । नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रुपमा एउटा अभियान बनेर देशव्यापी रुपमा निस्केको थियो–मदनको नेतृत्वमा । त्यो अभियानले मुलुकमा एउटा राजनीतिक तरंग मात्र होइन, एमाले नामको एउटा नयाँ शक्तिलाई स्थापित गर्यौं ।

तीव्र वैचारिक वहसकै वीचमा २०४९ माघमा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजना गरिएको थियो । त्यो राष्ट्रिय महाधिवेशनले मदनको नेतृत्वमा जुन विचारलाई (जनताको बहुदलीय जनवाद) अत्यधिक वहुमतले पारित गरेको थियो, त्यसले मुलुकको प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनलाई क्षमताका साथ नेतृत्व गर्ने उदघोष गरेको थियो । विचारको उत्कृष्ट प्रस्तुतिले महाधिवेशनका सहभागीहरूको ठूलो समर्थनमा मदन भण्डारी एमालेको महासचिव चुनिनु भयो ।

आम निर्वाचनमा भर्खरै काँग्रेसका लोकप्रिय नेता एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्राईलाई पराजित गर्ने मदनले वहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रिकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो । मैले अहिले पनि राम्ररी बुझ्न नसकेको एउटा प्रसंगको सम्झना भइरहन्छ । पाँचौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्र काठमाडौंको दशरथ रंगशालामा वीसौं हजार जनताका वीचमा आयोजना गरिएको थियो । प्रतिनिधि, पर्यवेक्षक र आम जनताको त्यो विशाल उपस्थितिले मदनलाई खोजिरहेको थियो, उहाँलाई सुन्न चाहिरहेको थियो । विदेशी पाहुनाहरू समेत मदनलाई सुन्न लालयित देखिन्थेँ ।

तर अचम्म ! मदनले हजारौंको त्यो उपस्थितिमा वोल्न पाउनु भएन !! त्यहाँ मनमोहनले वोल्नुभो, माधव, झलनाथ र सिपीले समेत वोल्नुभो तर मदनले वोल्न पाउनु भएन ! मदनले वोल्नुपर्छ भनेर मैदानमा वस्नेहरू आवाज उठाइरहेका थिए, तर पनि उहाँलाई वोल्ने औसर दिइएन ! यसमा कसको योजना र कुन मनोविज्ञानले काम गरेको थियो कुन्नी ? उदघाटनसभा सकेर मदन र म संगै फिरेका थियौं । उहाँले आफू चढ्नुभएकै गाडीमा मलाई पनि वस्न आग्रह गर्नुभयो । उदघाटन सभामा आफूलाई वोल्न नदिएको वारेमा मुखै खोलेर त केही बोल्नुभएन तर पार्टीमा भित्रभित्रै मौलाउन खोज्दै गरेको अस्वस्थ्यताका वारेमा केही संकेत भने गर्नुभयो । यी सबै कुराका वावजूद पनि महाधिवेशनको वन्द सत्रमा उहाँले प्रस्तुत गर्नु भएका विचार, योजना र नेतृत्वको शानदार विजय भएको थियो ।

२०४८ को आम निर्वाचनमा काँग्रेसले प्रतिनिधिसभामा वहुमत प्राप्त गरेको थियो, जसले ऊभित्र भनि नसक्नुको उन्माद जन्मायो । काँगे्रसको सर्वसत्तावादी चिन्तन र व्यवहारका कारण एमाले प्रमुख प्रतिपक्षी बनेको यथार्थलाई पनि स्वीकार गर्न नसक्ने र त्यस हिसावले मान्यता समेत दिन नचाहने उसको व्यवहारका कारण राजनीतिक मुठभेडको स्थिति वन्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काँग्रेसभित्र देखापरेको अलोकतान्त्रिक चरित्र र गतिविधिका विरूद्ध एमाले लगायतका प्रतिपक्षीहरू मात्र नभएर स्वयं काँग्रेसभित्रै पनि विरोध हुन थालेको थियो, जसको अगुवाइ काँग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । गणेशमानजी कै आग्रहमा यस मोर्चावन्दीको एउटा महत्वपूर्ण भूमिकामा मदन भण्डारी रहनु भएको थियो ।

अचम्म ! मदनले हजारौंको त्यो उपस्थितिमा वोल्न पाउनु भएन !! त्यहाँ मनमोहनले वोल्नुभो, माधव, झलनाथ र सिपीले समेत वोल्नुभो तर मदनले वोल्न पाउनु भएन ! मदनले वोल्नुपर्छ भनेर मैदानमा वस्नेहरू आवाज उठाइरहेका थिए, तर पनि उहाँलाई वोल्ने औसर दिइएन ! यसमा कसको योजना र कुन मनोविज्ञानले काम गरेको थियो कुन्नी ?

यस सिलसिलामा मदनको गणेशमानजीसित धेरैपटक भेटघाट र छलफलहरू भए । र, मलाई लाग्छ, केही महत्वपूर्ण सल्लाह भएका थिए र योजनाहरू समेत वनेका थिए । २०५० जेठ १ गते मदन र मेरो लगभग एक घण्टा जतिको भेटमा उहाँले यही जानकारी तथा अन्य केही संभावित विषयहरूतर्फ पनि संकेत गर्नुभएको थियो । गणेशमानजीहरुसित त्यसवीच पटकपटक भएका भेटघाटवारे जानकारी गराउँदै आफू काठमाडौं वाहिर रहेका वेला मलाई सम्पर्क विन्दूका रूपमा रहन निर्देशन दिनुभयो । त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्याण्डलाईन टेलिफोन नम्वर गणेशमानजीलाई दिएको र कुनै पनि वेला उहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरून्त सूचना गर्न विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिवारे विवरणसहितको एउटा टिपोट दिनु भएको थियो ।

मैले त्यसवेला मदनले भन्नुभएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहें, आवश्यक केही केही कुराहरू नोट गरें र आफूलाई लागेका केही विषयका वारेमा जिज्ञासा राखेँको थिए । मदनको निर्देशन थियो–यी धेरै गम्भीर र दूरगामी महत्व राख्ने विषय हुन, गोपनीयता वचाउनु होला, मैले दिएको मेरो कार्यक्रमको चीट पनि सुरक्षित राख्नुहोला । हामीवीच कुराकानी सकिनासाथ मदन कास्की जिल्ला अधिवेशनको उदघाटनका लागि हिँड्ने तयारीमा लाग्नुभयो । म एकछिनपछि मदनलाई शुभ–यात्रा भन्दै आफ्नो ज्ञानेश्वरको कोठातिर लागें ।

२०३५ असार आखिरीमा पहिलोपटक भेटेको मदनलाई २०५० साल जेठ १ गते विहान साढे आठ वजेपछि कहिल्यै भेट भएन !

मदन भण्डारीसित चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध–सहकार्य, मित्रता र सानिध्यतामा, अत्यन्त विश्वास र आत्मियतामा, एउटै कमिटीका सदस्य र सहयोद्धा कमरेडको रुपमा ब्यतित भएको थियो । मदनसित विताएको ती दिनहरु मेरो राजनीतिक जीवनमा अत्यन्त महत्व राख्ने प्रेरणादायी दिनहरु हुन, जसलाई म कहिल्यै विर्सन सक्दिन । हार्दिक श्रद्धान्जली जननेता मदन भण्डारी !!