भक्तपुर, असार १४
पुरानो पुस्ताले नयाँ पुस्तालाई दिने भनेको जमिनसँगसँगै ऐतिहासिक सम्पदा पनि हो । सम्पदा पुरानो हुदै जाँदा मर्मत सम्भारको आवश्यकता पनि पर्दछ । भक्तपुरको पाँच तले मन्दिर अहिले जीर्ण भएपछि यसको जीर्णोद्धारका लागि स्थानीय स्थानीय उपभोक्ता समिति लागेको छ ।
नगरपालिकाका कामहरु ठेक्कापट्टामा नहुने भएकाले उपभोक्ता समितिमार्फत निर्माणका कार्यहरु थालिएका छन् । नगरवासीले पनि श्रमदान गर्दै आएका छन् । अन्य स्थानीय निकायले ठेक्कामा पैसा खर्च गरी निर्माण कार्यहरु गर्दा पनि काम कमसल हुने र कामदार अभाव हुने अवस्थामा भक्तपुरमा भने समितिको तदारुकता र स्थानीयको सहभागिताले पाँचतले मन्दिरको झिङ्गटी छानो राख्ने काम भईरहेको छ ।
मन्दिर निर्माणका लागि थप काम कामदार चाहिने समयमा विभिन्न संघसंस्था र टोलका मानिसहरु स्वयम्सेवीका रुपमा सहभागी हुने गर्छन् । करिब ६५ लाख १३ हजार तीन सय ५८ रुपैयाँको लागतमा स्थानीय उपभोक्ता समितिबाट जीर्णोद्धार हुन लागेको पाँचतले मन्दिरका लागि विभिन्न संघसंस्थाले आर्थिकका साथै भौतिक सहयोग गर्दै आएका छन् । यस्तै गरी लकडाउनका समयमा भीडभाड हुन नदिन एक दिन एउटा टोलका मानिस श्रमदानका लागि पास लिएर आउने व्यवस्था गरेको पाँचतले मन्दिर निर्माण समिति सदस्य पूर्णचन्द्र राजचल बताउँछन् ।
श्रमदानका लागि यसरी आउने जनशक्तिले आफ्नो खाजाको व्यवस्था आफैं गर्छन् । भक्तपुरमा न्यातपोल मन्दिरबाहेक भूकम्पपछि जीर्णोद्धार र पुननिर्माण गर्न बाँकी रहेका अन्य सम्पदाहरु पनि उपभोक्ता समितिकै श्रमदान र खर्चमा पुननिर्माण हुँदै छन् ।
प्रतिक्रिया दिनुहोस्