जनता टाइम्स

१५ असार २०७७, सोमबार ०८:४५

अतिक्रमित भूमि फिर्ताका लागि भारतसँग प्वाइन्ट अफ नो रिटर्नमै जान खोजेको हो : प्रधानमन्त्री ओली


काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली जमिन इफ बट नभनी फिर्ता हुनुपर्ने प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओली भारतले तथ्य प्रमाणका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको हडपेको नेपाली जमिन फिर्ता गर्नैपर्ने नेपालको बटमलाइन पनि सुनाउनु भएको छ ।

‘नेपालले आफ्नो भूमि फिर्ता गर भनेको हो, तथ्य, प्रमाण सवैले हाम्रो देखाउँछ, अव हडपेर बस्ने होइन, फिर्ता गर्नुपर्छ, यसमा कुनै इफ बटको कुरा छैन,’ एबिसी टेलिभिजनका लागि शुभशंकर कँडेलसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले आफूहरुले भारतसँगको सीमा समस्या तथ्य र प्रमाणका आधारमा हल गर्न चाहेको पनि बताउनु भयो ।

‘केही मित्रहरुले मलाई भन्नुभयो, तपाई प्वाइन्ट अफ नो रिटर्नमै जानुभयो भनेर । हो हामी भारतसँग प्वाइन्ट अफ नो रिटर्नमै जान खोजेको हो, यसो कुरा उठाए जस्तो गर्ने तर जमिन फिर्ता नलिने होइन, हामीलाई हाम्रो जमिन फिर्ता चाहियो, यस कुरामा इफ बटको कुरा छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले भारतले आफू नेपाल भन्दा बलियो छु भनेर हेप्ने वा दुःख दिने काम उसैको हितमा नभएको बताउनु भयो । ‘भारतबाट नेपालसँग बलको ब्यवहार सुहाउँदैन, त्यसो गर्न मिल्दैन । छिमेक अलिकति कमजोर छ, त्यसकारण गाई फुकाएर लगाइ दिएको छ बालीमा, त्यसो गर्नु असल छिमेकी होइन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।