जनता टाइम्स

१६ असार २०७७, मंगलवार ०९:१८

आज देशभर मेघगर्जन र चट्याङसहित बर्षाको संभावना : मौसम बिभागले गर्यो सचेत रहन अपिल


काठमाडौं, असार १६ । मौसम पूर्वानुमान महाशाखाले अहिले सुदरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम र दक्षिण, पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पुर्वी दिशाबाट बहेको) को प्रभाव कायम रहेको जनाएको छ । यसका साथै मनसुनी न्युन चापीय रेखा नेपालको नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसअनुसार हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भईरहेको छ।

कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, डोटी, बझाङलगायत सुदुरपश्चिम प्रदेशका धेरैजसो स्थान र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्ययम बर्षा हुने सम्भावना रहेको छ । त्यस आसपासका खोला तथा नदीहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।