जनता टाइम्स

१६ असार २०७७, मंगलवार १७:५८

एमालेलाई लिएर स्थायी कमिटीमा प्रचण्डको त्यो आक्रोश


काठमाडौं, असार १६ । निर्वाचनमा आयोगमा नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड तनावमा पर्नुभएको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले यस बिषयमा नेकपाको आजको स्थायी कमिटी बैठकको सुरुमै कस्ले दर्ता गर्यो भन्द्र प्रश्न उठाउनु भएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो । झापा निवासी सन्ध्या तिवारी अध्यक्षको नाममा आयोगमा २४ सदस्यीय केन्द्रीय कमिटीको नाम पेश भएको जानकारी सार्वजनिक भएपछि यो बिषयमा प्रचण्डले प्रश्न उठाउनु भएको हो । प्रचण्डले एमाले नामको पार्टी दर्ता भएपछि आफू तनावमा परेको खुलासासमेत बैठकमै गर्नुभएको स्थायी कमिटीका एक नेताले जनताटाइम्सलाई बताए ।

‘उहाँले निकै आक्रोशका साथ कस्ले एमाले दल दर्ता गर्यो भन्दै आफू तनावमा परेको बताउनु भयो, यस बिषयमा कोही पनि नेताहरु जानकारी हुनुहुने रहेनछ,’ स्थायी कमिटीका ती सदस्यले भने । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको सुरुमै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको बिषयमा गम्भीर ढंगले कुरा उठाउनु भएको जानकारी दिनुभयो । ‘उहाँले दल दर्ताको बिषयमा के हो भनेर सुरुमै कुरा राख्नुभयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो ।