जनता टाइम्स

१६ असार २०७७, मंगलवार २०:२२

नेकपा स्थायी कमिटी बैठकमा पाँच शीर्ष नेता : भारतको कडा प्रतिरक्षा, प्रधानमन्त्री ओलीबिरुद्ध बाणको बर्षा


भारतीय मिडियाको दावी पुष्टि : प्रचण्डसहित नेकपाका पाँच नेताले गरे प्रधानमन्त्रीबिरुद्ध युद्धको घोषणा, आमाचकारी भाषाको प्रयोग

गणेश बस्नेत, शान्तिराम कार्की/काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुबीच निकै तल्लो स्तरमा गाली गलौजसम्मको भाषा प्रयोग भएको छ । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा प्रकाशन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि हटाउने भारतको योजनालाई नै सघाउने गरी आजको स्थायी कमिटी बैठकमा नेताहरु प्रस्तुत भएका हुन ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतबिरुद्ध प्रधानमन्त्री प्रधानमन्त्री ओलीको अभिब्यक्तिलाई लिएर राजीनामाको मागसहित युद्धको घोषणा गर्नुभएको छ । उहाँहरुले प्रधानमन्त्री हटाउन चाहने आफूहरु नै भएको घोषणा गर्दै भारतको कडा प्रतिरक्षा गर्नुभएको स्थायी समितिका एक सदस्यले बताए । बैठकमा पाँचै जना नेताहरुले प्रधानमन्त्री ओलीको भारतबिरोधी अभिब्यक्तिले आफूहरु मर्माहत भएको भन्दै राजीनामा मागेका हुन ।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर असार १४ गते आयोजित कार्यक्रममा नेपाली भूभाग समेटेर नक्सा जारी गर्दा भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको र त्यसैअनुसार नेपालमा पनि दुतावास र होटन होटलमा मान्छे परिचालन गरी षडयन्त्रका तानावाना बुनिरहेको बताउनु भएको थियो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सो दिनको भनाईलाई लिएर अध्यक्ष प्रचण्डले आजको बैठकको सुरुमै कडा आपत्ति जनाउँदै भारतबिरोधी अभिब्यक्तिप्रति आफ्नो गम्भीर आपत्ति रहेको बताउनु भयो ।

प्रधानमन्त्रीले भारतको बिरुद्धमा जे अभिब्यक्ति दिनुभयो, त्यो गम्भीर आपत्तिजनक छ, प्रधानमन्त्रीको अभिब्यक्तिले भारतसँगको सम्बन्ध खल्बल्याएको छ,’ अध्यक्ष प्रचण्डको भनाई उधृत गर्दै स्थायी कमिटीका एक नेताले जनताटाइम्ससँग भने, ‘नेपालमै पनि हटाउन लागेका छन भन्नुभएको छ, यहाँ त हामी नै छौं ।’ आफ्नो भनाई राख्नेक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले भारतको बिरुद्ध दिएको अभिब्यक्ति र नेपालमै चलखल भइरहेको भन्ने कुरा नेपाली जनतामाथिको अपमान भएको समेत जिकिर गर्नुभएको थियो । ती नेताका अनुसार बैठकमा प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ताको बिषयसमेत प्रधानमन्त्रीसँग जोडिएको भन्दै भारतबिरोधी अभिब्यक्ति र दल दर्ताबारे प्रष्ट पार्न भन्दै अध्यक्ष तथा प्रधानमन्त्रीलाई बोल्न आग्रह गर्नुभएको थियो ।

निकै आक्रोशित बनेर प्रधानमन्त्री ओलीबिरुद्ध खनिनु भएका अध्यक्ष प्रचण्डले बोल्न आग्रह गरेपछि प्रधानमन्त्री ओलीले आफ्नो धारणा राख्नुभएको थियो । सो क्रममा ओलीले दल दर्ताको बिषयमा आफूमाथि शंका गरेकोमा कडा प्रतिवाद गर्नुभएको थियो । ‘पार्टी एकताको एक बर्ष पुगेपछि पहिलाका पार्टीको नाम र चिन्ह राखेर जोसुकैले पनि दल दर्ता गर्न सक्ने प्रावधान छ, यही प्रावधानअनुसार कसैले नेकपा एमाले भनेर दर्ताको निवेदन दियो होला, माओवादी केन्द्रको पनि गोपाल किँरातीले दर्ता गरेरै राख्नुभएको छ, त्यस्तै होला, मलाई यो बिषयमा जोडनु आपत्तिजनक छ,’ ती नेताका अनुसार प्रचण्डलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीको भनाई थियो ।

आफ्नो सम्बोधनको क्रममा ओलीले भारतीय मिडिया र नेपालकै होटल होटलहरुमा भइरहेको चलखेलबारे आफू जानकार नै रहेको भन्दै भारतले होइन भने सवै एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताउनु भयो । ‘भारतीय मिडियाका कुरा सुन्दा, बिश्लेषण गर्दा मलाई हटाउन खोजिएको छ भन्ने प्रष्ट भइसकेको छ, हामीले आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा भारत बिरुद्धमा लाग्छ भने सवै एकजुट हुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै अर्का नेताले जनताटाइम्ससँग भने, यही स्थायी कमिटी बैठकले भारतीय मिडियाको ती भनाईलाई चिर्नुपर्छ, नेपालको प्रधानमन्त्री हामीले चाहेर हटाउन सकिन्न भन्ने प्रमाण दिनुपर्छ, यो बैठकबाट यही प्रमाण दिऔं ।’

प्रधानमन्त्री ओलीले आफूमाथि लगातार आक्रमण भएपछि प्रतिवाद जरुरी रहेको भन्दै कडा जवाफसमेत फर्काउनु भएको थियो । ‘ममाथि अस्वभाविक बाण प्रहार हुन्छ भने मैले सुरक्षाका लागि कि त ढाल प्रयोग गर्नूपर्छ, कित बाण फर्काउनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्रीले अन्य थुप्रै बिषयमा आफ्ना कुरा राख्नुभएको र उहाँ बोलिरहँदा बरिष्ठ नेता झलनाथ खनालले तीन पटक अस्वभाविक हस्तक्षेप गर्नुभएको थियो । तर ओलीले कुनै जवाफ नफर्काउनु भएको ती नेताको भनाई छ ।

प्रधानमन्त्री ओलीपछि बरिष्ठ नेता खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरु सवै प्रधानमन्त्री ओलीबिरुद्ध खनिनुभएको थियो । सवैले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीले राजीनामा दिनुपर्ने तर्क राख्नुभएको थियो । उहाँहरुको भाषा निकै गालीगलौजको आमाचकारी तहमा रहेको ती नेताको भनाई छ । ‘उहाँहरुले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीलाई हटाउनुपर्छ भन्ने कुरा नै राख्नुभयो, भारतलाई गाली गरेर ओलीले नेकपा सकाए, नेपाल नै सक्कियो भन्दै भारतको दह्रो प्रतिरक्षा गर्नुभयो,’ ती नेताले भने ।

आजको बैठकमा बोल्ने अधिकांश नेताहरु सचिवालयका पाँच नेता निकटकै रहेका थिए । अधिकांशले भारतबिरोधी प्रधानमन्त्री ओलीको अभिब्यक्तिको कडा आपत्ति जनाउँदै उहाँबिरुद्ध खनिएका थिए ।