जनता टाइम्स

१७ असार २०७७, बुधबार ०८:५४

शीर्ष नेतालाई घनश्याम भुसालको कडा चुनौती


काठमाडौं, असार १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं कृषिमन्त्री घनश्याम भुसालले सचिवालयका नेताहरुलाई कडा चुनौती दिनुभएको छ । एजेण्डा भन्दा बाहिर गएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाडनुपर्ने अडानमा सचिवालयका नेताहरु उभिएपछि भुसालले एकतावद्ध भएर अनिष्टको सामना गर्ने भन्दै कडा चुनौती दिनुभएको हो ।

भुसालले पार्टी बिवाद निकै जटिल मोडमा पुगेको भन्दै दृढतापुर्वक सामना गर्ने घोषणा पनि गर्नुभएको छ ।  मंगलबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको बिरुद्धमा दिनुभएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दर्ताको निवेदनको विषयले प्रवेश पाएपछि विवाद चरम सीमामा पुगेको हो। भारतको बिषयमा प्रधानमन्त्री ओलीले दिनुभएको पछिल्लो अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता नै भंग गर्ने योजनासहित दुवै पदबाट राजीनामा मागेपछि नेकपाको संकट गहिरिएको छ ।

बिवाद चरम सीमामा पुगेपछि कृषिमन्त्री घनश्याम भुसालले पार्टी भित्रका अनिष्ट हुने सम्भावना नजिकिँदै गएको जानकारी कार्यकर्तालाई गराउनु भएको हो । ‘हाम्रो जहाज महा भुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो !  अर्थात्, हामी हरेकले फेरि एक पटक विवेक र धैर्यको परिक्षा दिनु पर्ने भयो ! नहड्बडाएर, एकताबद्ध भएर यसको सामना गरिने छ, सामाजिक सञ्जाल ट्वीटरमार्फत भुसालले भन्नुभएको छ । पार्टीलाई दुर्घटनाबाट जोगाउन हरेकले एकपटक विवेक र धैर्यको परिक्षा दिनुपर्नेमा जोड दिँदै उहाँले सबै मिलेर एकताबद्ध भएर यसको सामना गर्नुपर्ने धारणा पनि राख्नुभएको छ ।