जनता टाइम्स

१७ असार २०७७, बुधबार ११:२३

ओलीबिरुद्ध लाग्ने नेकपाका नेतालाई पाँच प्रश्न


काठमाडौं, असार १७ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध नेकपाभित्रैबाट अभियान थालेसँगै कार्यकर्ता देशबासीले कडा प्रश्न उठाएका छन । आफ्नो भुभाग समेटेर नक्सा जारी भएपछि चिढिएको भारतले प्रधानमन्त्री ओलीबिरुद्ध कठोर नीति लिएसँगै नेकपा बैठकमा अध्यक्ष पुष्पकमल दाहालदेखि शीर्ष नेताबाटै बैठकमा भारतको बचाउ र ओलीको बिरुद्ध लागेपछि यी प्रश्नहरु उठेका हुन ।

जो कोही विदेशी सिधै आफै आएर त चलखेल गर्दैनन् । तिनले आफ्ना अनुचर, फण्डिङ इलेमेन्ट, शिखण्डी, प्रभावित तत्वहरू, एजेण्ट एवं आफ्नो हितमा चल्दै आएका व्यक्तिहरूलाई रिमोटबाट जस्तैगरी संचालन गर्ने गर्दछन । अभिनय र प्रस्तुति नेपथ्यमा चल्दै आएकोमा अब रंगमचमा नै प्रदर्शन शुरू भएको अनुभूति हुन थाल्यो । भारतीय मिडियाले दिल्लीमा गरिरहेको सनसनीपूर्ण संप्रेषण र होहल्लालाई पुष्टि गर्ने गरी खास चलखेल थालिएको होला ? नेपालमा नेपालविरोधी माहोल बनाउने र नेपालको हितमा दृढतापूर्वक उभिएर नेतृत्व गर्नेहरूको तेजोबध गरेर आफ्ना स्वार्थ पूरा गर्न उद्दत जुनकुनै कोशिसका असली निर्देशक र खलनायकहरू कोको हुन ? तिनलाई राम्रोसँग चिन्न मात्रै सके पुग्छ । यो यतिबेलाको अहं प्रश्न बनेको छ ।

१. विगत १४६ बर्ष नेपालले भोगचलन गरेको, तर ५८ बर्षदेखि अतिक्रमण गरिएको नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटी नेपालको राजनीतिक र प्रशासनिक नक्सा प्रकाशित गर्नु तथा त्यसलाई निशान छापमा राख्नु कसरी राष्ट्र र पार्टीको अहितमा भयो ? यस कार्यको नेतृत्व गर्ने प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरूद्दको प्रहार र घेराबन्दी ठीक यतिबेला कसको सेवामा समर्पित र लक्षित रहेको छ ?

२. नागरिकता कानुनमा बैवाहिक अंगीकृतले ७ बर्षपछि मात्र नागरिकता पाउनसक्ने कानुनी व्यवस्था कसको हितमा भएन ? अंगीकृत नागरिकता प्राप्त नागरिकका सन्तानले जन्मसिद्ध आधारमा नागरिकता लिनसक्ने वंशजको अधिकार कायम गर्दा कुन चाहिं नेपाली, पहाडी र तराईबासीको अहितमा हुन्छ ? भारतमा विवाह भएको ७ बर्षपछि अंगीकृतको नागरिकता लिन प्रक्रिया थाल्न सक्ने कानुनले के व्यवस्था गरेको छ र नेपालबाट विवाह गरी भारत पुगेका चेलीहरूले त्यसअनुरूप नै नागरिकता लिइरहेका छैनन ? अनि, नेपालमा विवाह गरेर आउनासाथ नागरिकता, सांसद र मन्त्री बन्न पाउने सरिताप्रवृत्तिको पैरवी कसको हित र कसको अहितमा हुन्छ ?

४. भारतले नेपाली भूभाग राखेर नक्सा प्रकाशित गरेपछि नेपालले मौनता साँधेर बसिदिनु पर्दथ्यो ? वा नेपालले आफ्नो भूभाग राखेर नक्सा छाप्नु नै गल्ती थियो ? नयाँ नक्सालाई निशान छापमा राख्न संविधानको दोस्रो संशोधन गरेर सर्वसम्मतिले पारित गर्नु पनि गल्ती थियो ?

५. अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस हदमा प्रहार कसको निर्देशन, चलखेल र हितमा गरिएको छ ?

हिजोदेखि यस्ता धेरै प्रश्नहरू सर्वत्र उठिरहेका र उठाइएका छन् । यिनको जवाफ हरेक देशभक्त नेपाली नागरिकले स्पष्ट खोजिरहेका छन् । आफ्नो सान्दर्भिकताको लागि पनि नेकपा यी प्रश्नहरूमा स्पष्ट हुन सक्नुपर्छ ।