जनता टाइम्स

२० असार २०७७, शनिबार २२:२९

प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग भन्नुभयो : साथीहरु त राष्ट्रपतिलाई पनि नछाड्ने गरी पो आउनु भएछ


काठमाडौं, असार २०

प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन नै खतरामा रहेकाले त्यसलाई जोगाउनुपर्ने बेला आएको बताउनु भएको छ । उहाले नक्सा र नागरिकता विधेयक ल्याएपछि आफुमाथी संकट शुरु भएको बताउदै अब तपाईहरु(मन्त्री)ले पनि कित्ता क्लियर गर्नुपर्ने बेला आएको बताउनु भएको हो ।

सबै मन्त्री र राज्यमन्त्रीलाई शनिवार साँझ बालुवाटारमा बोलाएर उहाले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि उत्रने कि नउत्रने तपाईहरुले निर्णय गर्ने बेला आएको बताउनु भयो । ‘म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु गरिनै रहेको छु, तर, साथीहरुको शैली हेर्ने हो भने बढो अचम्मको छ’, प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको पनि स्पष्ट शब्दमा मन्त्रीहरुलाई बताउनु भएको छ । ‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग भन्नुभयो, ‘यस्तोबेलामा तपाई‍ंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।’

पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको कुराको समेत मन्त्रीहरुलाई उनले जानकारी गराएका थिए । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन हो ? कसरी संगठन चल्दैछ प्रस्ट बुझ्न सकिन्छ,’ उहाले भन्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा भएका कतिपय कुराहरु बाहिर जाने गरेको भन्दै उहाले चेतावनी भाषामा त्यस्ता षडयन्त्र नगर्न पनि भन्नु भएको छ । ‘मन्त्रिपरिषद्मा बसेर मन्त्रिपरिषद्कै विरुद्धमा काम नगर्नुहोस्’, उहाले अगाडी भन्नुभयो,‘म सत्यसँग कहिल्यै लड्दिन तर असत्यसँग कहिले झुक्दिन ?’

बैठकमा केही मन्त्रीले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरामा कुनै सत्यता नभएको भन्दै त्यसका भ्रमपूर्ण कुराका पछाडी शिर्ष नेताहरु लागेको बताउनु भएको थियो । तर, प्रधानमन्त्रीले आफुसँग सो कुराको प्रमाण रहेको र देशलाई दुर्घटनाबाट बचाउनका लागि संसदको अधिवेशन अन्त्य गर्नुपरेको समेत खुलाउनु भएको थियो ।

राष्ट्रपतिविरुद्ध महाअभियोगको समाचार जनताटाइम्सले ब्रेकिङ्ग गरेको थियो । जुन यस्तो छ

राष्ट्रपतिबिरुद्ध महाअभियोग लगाउन प्रचण्ड र माधव नेपालले कानून ब्यवसायीसँग परामर्श गरेको खुलासा