जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार ०९:२३

गाडीमा हतियार देखाई लुट्ने २ जना पक्राउ


बनेपा, १० जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ नमोबुद्धस्थित जङ्गलछेउमा दाप्चाबाट सामग्री बेचेर फर्किएको बा३ख ७३६४ नंको गाडीमा हतियार देखाई लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पक्राउ पर्नेमा खोटाङ जिल्ला ऐँसेलुखर्क निवासी किशोर राई र गाडी चालक काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका–१ निवासी धर्मराज घोरसाइने रहेका छन् । पक्राउमध्ये राई पैसा लुटेर फरार भएको र चालक घोरसाइनेको मिलेमतो रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दुवैलाई डाँका मुद्दामा कारवाहीका लागि प्रक्रिया अगाडि बढिसकेको जनाइएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार दुई मोटरसाइकलमा आएका पाँच जनाको समूहले गत शुक्रबार धारिलो हतियार देखाई गाडी रोकी लुटपाट गरेका थिए । सो क्रममा करीब रु दुई लाख नगद, मोटरसाइकलको बिलबुक, नागरिकता र अन्य महत्वपूर्ण कागजातसमेत लुटेर लगेको पीडित व्यापारी चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । सो क्रममा गाडीका सहचालक रेशम दर्लामी मगरको एक थान मोबाइलसमेत लुटेर लगेको जनाइएको छ ।