काठमाडौं, असार २३ । नेपाल प्रहरीको प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद बैठक बोलाइएसँगै को नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) को बन्ला भन्ने चर्चाले ब्यापकता पाएको छ ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली भोलिबाट अनिवार्य अवकाश पाउन लागेपछि आइजीपीचयनका लागि आज मन्त्रिपरिषद बैठक बोलाइएको छ । आइजीपीका लागि यसपटक दुई जना एआइजीबीच प्रतिस्पर्धा देखिएको छ । दावेदार दुवैले नेपाल प्रहरीको इतिहास नै ब्रेक गर्दै जो नियुक्त भए पनि सघाउने घोषणा गरेपछि यसपटक चलखेल निकै कम भएको छ ।
नयाँ आइजीपीका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) द्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पाल मात्रै दावेदार हुनुहुन्छ । आइजीपी ज्ञवालीसँगै एआइजी तारणिप्रसाद लम्साल पनि अनिवार्य अवकाशमा जाने भएपछि पाल र थापामध्ये एक जनालाई आज सरकारले नेपाल प्रहरीको नेतृत्वमा चयन गर्नेछ । २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका एआइजीद्वय पाल र थापा दुवैले एकअर्काबिरुद्ध प्रचारवाजी नगर्ने र आफ्नो पक्षमा पनि नलेखाउने नीति लिएपछि अघिल्लो पटक जस्तो समाचारको श्रृंखला पनि यसपटक देखिएको छैन ।
सरकारले नयाँ आइजीपी छान्दा सेवा प्रवेशदेखि हालसम्मको ट्रयाक रेकर्ड हेरेर निर्णय लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा नै ट्रयाक रेकर्डका आधारमा उत्कृष्ट देखिएको ब्यक्तिलाई नेपाल प्रहरीको नेतृत् वगर्ने अवसर दिने निश्कर्षमा रहनुभएको कारण दुवै जनाको कामको मुल्यांकण भइरहेको छ । नयाँ आइजीपी बनाउने बिषयमा कँही कतै चलखेल भए सूचना संकलन गर्ने संयन्त्रसमेत बनाएको कारण प्रधानमन्त्री र गृहमन्त्री निकट ब्यक्तिहरु यस बिषयमा पर्न नचाहेका हुन ।
‘यही ब्यक्ति बनाउने भन्ने छैन, ट्रयाक रेकर्डमा जो अगाडि आउँछन, तिनै ब्यक्ति नै नेपाल प्रहरीको आइजीपी हुनेछन, प्रधानमन्त्रीको प्रष्ट लाइन यही छ,’ गृह मन्त्रालय निकट स्रोतले जनताटाइम्ससँग भन्यो । स्रोतका अनुसार ट्रयाक रेकर्डमा अब्बल नै नयाँ आइजीपी हुनेछन । भावी आइजीपीका रुपमा दावेदार रहनुभएका पाल र थापा हाल प्रहरी प्रधान कार्यालयको दुई महत्वपुर्ण बिभागको नेतृत्व सम्हालिरहनु भएको छ । पाल कार्य एवं अपराध अनुसन्धान बिभाग प्रमुख हुनुहुन्छ भने थापा मानव स्रोत एवं प्रशासन बिभाग प्रमुख हुनुहुन्छ ।
कतिपयले फलाना ब्यक्तिको गृहबाटटिप्पणी उठिसक्यो भनेर प्रचार गरे पनि अहिलेसम्म यही ब्यक्ति आइजीपी हुन्छ भन्ने टुंगिसकेको छैन । सरकारले कार्यक्षमतालाई नै आइजीपी नियुक्तिको पहिलो आधार बनाएको कारण जो अब्बल देखिन्छन, उहीले नियुक्ति पाउने बालुवाटार स्रोतले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्