जनता टाइम्स

२३ असार २०७७, मंगलवार २१:४७

गृहमन्त्री थापाको निश्कर्ष : अहिले सरकार र पार्टी नेतृत्व परिवर्तन गर्ने कुराले प्रतिक्रान्ति निम्त्याउँछ


काठमाडौं, असार २३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले अहिले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्ने कुरा पार्टी र देशको हितमा नभएको निश्कर्ष सुनाउनु भएको छ । चुनावअघि सरकार र महाधिवेशनअघि पार्टीको नेतृत्व परिवर्तन गर्दा प्रतिक्रान्ति निम्त्याउने ठोकुवासमेत थापाले गर्नुभएको छ ।

राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहित केन्द्रीय सदस्यहरुको टोलीसँगको आज भएको भेटमा गृहमन्त्री थापाले आफू कसैको पक्षमा नरहेको तर अहिले सरकार र पार्टीको नेतृत्व परिवर्तन गर्नु घातक हुन्न भन्ने निश्कर्षका साथ अघि बढेको प्रष्ट पार्नुभयो । केन्द्रीय सदस्यहरुसँग नेता थापाले आफू झम्सिखेल बैठकमा गएको र बोलेको कुरालाई बंग्याएर नेकपाबिरोधी समुहले कुप्रचार गरको तथ्यसमेत राख्नुभएको छ ।

पार्टी विभाजनविरुद्ध उभिन र नेताहरुबीच एकता कायम गर्न दबाव दिन जाँदा गृहमन्त्री थापाले आफू कसैलाई निषेध गरेर जान हुँदैन भन्ने पक्षमा रहेको र सोही आधारमा स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्ने बताउनु भएको नेता भट्टराईले जनताटाइम्सलाई जानकारी दिनुभयो । सो क्रममा नेता थापाले झम्खिसेलको अँगेनो रेष्टुरेन्टमा भएको भेलामा आफ्नो सहभागितालाई पनि गुटहरुबाट कुप्रचार गरिएको भनाइ राख्नुभएको भट्टराईले बताउनुभयो ।

‘अहिले सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुराले प्रतिक्रान्ति निम्त्याउँछ । हामीले क्रान्तिलाई सहयोग गर्नुपर्छ । कसैलाई निषेध गरेर जानु हुँदैन । हामीले पार्टी बलियो बनाउने हो, गुटलाई बलियो बनाउने होइन । म स्थायी कमिटी बैठकमा पनि यही कुरा राख्छु,’ आफूहरुसँग थापाको भनाई उधृत गर्दै भट्टराईले भन्नुभयो । गृहमन्त्री तथा सचिवालय सदस्य थापालाई भेट्न भट्टराईसहित राष्ट्रियसभा सांसद तथा केन्द्रीय सदस्यहरु सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, जीवन बुढा र नरपति लोहार आज दिउसो गृह मन्त्रालय पुग्नुभएको थियो ।

सो क्रममा केन्द्रीय सदस्यहरुले पार्टीमा एकता कायम गर्न थापाको भूमिका हुनुपर्ने सुझाव दिनुभएको थियो ।