जनता टाइम्स

२४ असार २०७७, बुधबार १३:३९

उकालो लाग्यो वैदेशिक व्यापारको ग्राफ : दैनिक साढे १ अर्वको दरले उठन थाल्यो आन्तरिक राजश्व


काठमाडौं, असार २४ । कोरोना महामारी र लकडाउनका कारण निकै संकटमा परेको आन्तरिक राजश्व र बैदेशिक ब्यापारको ग्राफ ह्वात्तै माथि उठेको छ । जेठसम्म कर संकलन र भन्सारमा ठुलै समस्या भोगिरहेको सरकारलाई लकडाउन खुकुलो भएपछि असार महिनाले निकै सहज बनाएको हो ।

असार महिनामा आन्तरिकतर्फ कर संकलनको ग्राफ निकै माथि पुगेको तथ्यांकले देखाएको छ । लकडाउन खुकुलो पारेपछि सरकारले करदाताबाट राम्रो सहयोग पाएको छ । आन्तरिक राजस्व विभागका अनुसार असार २२ गतेसम्म ३५ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन भइसकेको छ । यो तथ्यांकले असारमा दैनिक साढे १ अर्ब रुपैयाँको दरले राजस्व संकलन भइरहेको प्रष्ट पार्छ ।

करदाताबाट कठिन परिस्थितिका वावजुद राजस्व आउने क्रम निकै राम्रो रहेको छ

आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद कुँवरका अनुसार करदाताबाट कठिन परिस्थितिका वावजुद राजस्व आउने क्रम निकै राम्रो रहेको छ । भन्सार राजस्व केही कम भए पनि निरन्तर उठेको थियो । तर, आन्तरिक राजस्व भने चैत र वैशाखमा लक्ष्यभन्दा निकै कम उठेको थियो । लकडाउन केही खुकुलो बनाएपछि राजस्व संकलनमा समेत वृद्धि भएको हो । खासगरी भ्याट तिर्नुपर्ने व्यवसायीको कर जनताकै पैसा भएका कारण यो रकम तिर्नुपर्ने नैतिक दबाव व्यवसायी परेको थियो ।

लकडाउन हुनुभन्दा अगाडिको सामान्य अवस्थाको तुलनामा वैदेशिक व्यापार ८५ प्रतिशतसम्म सुधार भइसकेको छ

लकडाउन खुकुलो भएसँगै वैदेशिक व्यापारको ग्राफसमेत उकालो लागेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार चैत ११ गते शून्यमा झरेको वैदेशिक व्यापार अहिले अधिकतम ८५ प्रतिशतसम्म सुधार भइसकेको छ । ‘लकडाउन हुनुभन्दा अगाडिको सामान्य अवस्थाको तुलनामा वैदेशिक व्यापार ८५ प्रतिशतसम्म सुधार भइसकेको छ,’ दाहालले भन्नुभयो ।