जनता टाइम्स

२४ असार २०७७, बुधबार १९:११

सकियो ओली–प्रचण्डबीचको बार्ता : हट्यो आशंका-घट्यो दुरी, निकाश दिन भयो यस्तो सहमति


काठमाडौं, असार २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दुई अध्यक्षबीच पार्टीभित्र पछिल्लो समय देखिएको चरम गुटबन्दी र घेरावन्दीको बिषयमा डेढ घण्टा लामो छलफल भएको हो ।

छलफलमा दुवै अध्यक्षले सहमतिको खाकाबारे साझा धारणा बनाए पनि ठोश निश्कर्ष भने आउन सकेको छैन । उहाँहरुले पार्टीभित्र देखिएको समस्या समाधानको बिषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिनुभएको छ । पार्टी एकताका नायक ओली र प्रचण्डबीच सहमतिका लागि नेकपाले आजको लागि तय गरिएको स्थायी समिति बैठक तेस्रो पटक स्थ्गित गर्दै शुक्रवारसम्म सारेको छ । स्थायी कमिटी बैठकमा मुलुकको समस्या समाधान भन्दा काम गरेबापत कार्वाहीको शैलीमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीबिरुद्ध चरम गुटबन्दी भएपछि नेकपामा गम्भीर संकट आएको ठहरसहित बैठक स्थगित गरेर दुई अध्यक्ष छलफलमा जुटनुभएको हो ।

यद्यपी अध्यक्ष प्रचण्डमाथि उहाँका समुहमा समाहित भएका बरिष्ठ नेताहरुले ओलीसँग सहमति नगर्न र बहुमतका आधारमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन दवाव दिइरहेका छन । पछिल्लो पटक प्रचण्डको टीममा समाहित हुनुभएका बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको समुहसँग परामर्श लिएर अध्यक्ष ओलीसँग बार्ताका लागि प्रचण्ड बालुवाटार पुग्नुभएको थियो । उहाँहरुबीच आज ५ बजेदेखि ६ः३० बजेसम्म वान टु वान बार्ता भएको हो । आज निकै गहन छलफल भएको र अर्काे बैठकमा थपगृहकार्यसहित निकाश दिने सहमति दुई अध्यक्षबीच भएको छ ।

‘बार्ता पार्टीभित्रको समस्या एकमुष्ट ढंगले हल गर्ने गरी अघि बढेकोले समय लिएको हो, अव फेरि सरकारलाई काम गर्न नदिने, सरकारबिरुद्ध, प्रधानमन्त्रीबिरुद्ध घेरावन्दी गर्ने, पार्टी एकता टुंग्याउन नदिने जस्ता सवैखाले खेललाई समाप्त पार्ने निश्कर्षका साथ दुई अध्यक्षबीच छलफल जारी छ, पार्टी र सरकारलाई प्रभावकारी बनाउने बिषयलाई पनि उत्तिकै प्राथमिकतामा राखिएको छ,’ बैठकको निश्कर्ष सुनाउँदै नेकपा सचिवालयका एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार दुई अध्यक्षबीच अव आशंका हटेको छ भने एकतालाई कसरी मजवुत बनाउने भन्नेतर्फ केन्द्रित रहेको छ ।

ती नेताका अनुसार आजको छलफलमा अध्यक्ष ओली र प्रचण्ड दुवैले सरकार र पार्टीलाई स्थिरताको बाटोमा लैजाने गरी आफ्नो धारणा राख्नुभएको छ । पछिल्लो समय प्धानमन्त्री ओलीलाई हटाउने भारतीय षडयन्त्र र नेकपाभित्रै भइरहेको घेरावन्दीलाई लिएर नागरिक स्वतःस्फूर्त रुपमा सडकमा आएपछि नेकपाभित्र उहाँबिरुद्ध घेरावन्दी गर्ने समुहमाथि नैतिक संकटका साथै ठुलै दवाव परेको छ । आजको बार्तामा अध्यक्ष प्रचण्डले यस बिषयको सच्चाइलाई महसुस गरी कुरा उठाउनु भएको स्रोतले बतायो ।