जनता टाइम्स

२५ असार २०७७, बिहीबार १९:०२

प्रधानमन्त्री ओलीको चरित्रहत्या गर्ने भारतीय मिडियाबारे बोल्यो सरकार : राजनीतिक र कानुनी उपचार खोजिन्छ


काठमाडौं, असार २५ । सरकारले नेपालको विषयमा भ्रामक र आपत्तिजनक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने प्रष्ट पारेको छ ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिनुभएको हो । उहाँले पत्रकार सम्मेलनमा भारतीय मिडियामा नेपालको बिषयमा आएका समाचारको सरकारले भत्र्सना गर्ने बताउनु भयो ।

‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भत्र्सना गर्छ । सरकारले मिडियालाई प्रतिवन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस भन्ने चाहेको छ । कुटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ,’ भारतीय मिडियाबारे सोधिएको प्रश्नमा मन्त्री खतिवडाले भन्नुभयो । भारतीय टिभी च्यानललाई रोक लगाउनुपर्ने आवाज उठिरहेको छ, सरकारले के गर्छ भन्ने प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिनुभएको हो ।

भारतीय टिभीबाट प्रसारित समाचारबारे कानूनी उपचार खोज्ने उहाँले बताउनु भयो । ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं । यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन । राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ, खोजिन्छ,’ प्रवक्ता खतिवडाले भन्नुभयो ।