जनता टाइम्स

२६ असार २०७७, शुक्रबार ११:०२

यसकारण स्थगित भयो नेकपाको स्थायी कमिटी बैठक


काठमाडौं, असार २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठक चौथो पटक स्थगित भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधरासहित भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर नक्सा जारी भएपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध घेरावन्दी गरेपछि चरम संकटमा पुगको नेकपाभित्र युद्धबिरामको संकेतसँगै स्थायी कमिटी बैठक एक सातासम्म स्थगित भएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज बस्ने भनिएको बैठक साउन २ गतेसम्म स्थगित भएको छ । पार्टीभित्र देखिएको बिवाद र सरकार परिवर्तन गर्ने भारतीय चलखेल तोडनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच सहमतिका लागि नेकपा बैठक स्थगित गरिए पनि प्राकृतिक प्रकोपलाई आधार बनाइएको छ ।

प्रवक्ता श्रेष्ठले प्राकृतिक प्रकोपका घटना बढेकाले तत्काल उद्दार तथा राहतमा केन्द्रित हुन भन्दै बैठक स्थगित गरिएको प्रवक्ता जानकारी दिनुभएको छ । देशभर भइरहेको अतिबृष्टि र सिन्धुपाल्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षतीसमेत भइसकेको स्थितिमा सम्पुर्ण पार्टी पंक्तिलाई उद्धार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतीलाई सकेसम्म रोक्ने कार्यमा लाग्न केन्द्रीय कार्यालयको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक सात दिन स्थगित गरिएको छ, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

आज स्थगित भएको नेकपाको स्थायी कमिटी बैकठ अब साउन २ गते बिहान ११ बजे बस्नेछ । पछिल्लो समय देखिएको बिवाद समाधानका लागि अध्यक्षद्वयको छलफलसँगै दोस्रो तहका नेताहरु पनि छलफलमा जुटेका छन् । यद्यपी आजसम्म समाधान आएको छैन ।