जनता टाइम्स

२६ असार २०७७, शुक्रबार १८:४१

झरीमा रुझ्दै प्रधानमन्त्री ओलीको समर्थनमा निस्कियो जुलुस : भारतको गुलाम नबन्न शीर्ष नेतालाई खवरदारी


काठमाडौं, असार २६ । भारतको योजनामा सत्तारुढ नेकपाभित्रैबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको बिरुद्धमा अभियान चलेपछि राष्ट्रवादी युवाहरुले अघि बढाएको सडक आन्दोलनमा सहभागीहरुको संख्या बढन थालेको छ । केही दिनदेखि भारतीय शासकको भरिया नबन्न नेकपाकै स्थायी कमिटीका नेताहरुलाई चेतावनी दिँदै सडकमा उत्रिएका युवाहरुका आजको जुलुसमा सहभागीको संख्या ह्वात्तै बढेको छ ।

प्रधानमन्त्री ओलीलाई काम गर्न दिन र भारतीय शासकको मतिया नबन्न चेतावनी दिन आज दिउसो माइतीघरमा भएको प्रदर्शनमा उल्लेख्य मात्रामा युवा तथा बिद्यार्थीहरुको सहभागिता रह्यो । लामो समयदेखि नेपाली भूमि अतिक्रमण गरेको भारतलाई जवाफ दिँदै नक्सा छापेको केही समयभित्रै बिना एजेण्डा नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीबिरुद्ध घेरावन्दी भएपछि युवा बिद्यार्थीहरुले नेकपाकै नेताहरु भारतको योजनामा हिडेको निश्कर्षसहित आजको प्रदर्शन गरेका हुन ।

उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहे पनि प्रधानमन्त्रीका समर्थकको प्रदर्शनमा प्रभाव परेको देखिँदैन । झनै बढेको देखिन्छ । आजको प्रदर्शनमा बर्षा भइरहे पनि प्रदर्शनकारी त्यस्को पर्वाह नगरी सडकमा लगातार नारावाजी गरिरहेका थिए । झरी परिरहेपनि प्रदर्शनमा सहभागी युवाहरुले ओलीको पक्षमा लेखिएका ब्यानर, प्लेकार्ड बोक्दै नाराबाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री फेर्न पाईदैन भन्दै चर्काे नारावाजी गरे ।