जनता टाइम्स

१० जेष्ठ २०७६, शुक्रबार १३:०१

फलफूल बोकेको ट्रक दासढुङ्गा नजिकैबाट त्रिशूलीमा खस्यो


चितवन, जेठ १०

भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका–२९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।

सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुबै जनाको अवस्था सामान्य रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।