जनता टाइम्स

२७ असार २०७७, शनिबार १३:१७

गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि


पोखरा, असार २७

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा नयाँ संक्रमित फेला परेका हुन् । आज नयाँ संक्रमित पुष्टि हुने जिल्लामा तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङका छन् । तनहुँमा कोरोना संक्रमण पुष्टि हुनेमा ब्यास नगरपालिकाका ३५ वर्षीय एक जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका ३३ वर्षीय एकजना पुरुष छन् ।

त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा २ जना संक्रमित फेला परेका छन् । उनीहरु दुवै ३० वर्षीय पुरुष हुन् । नयाँ संक्रमित पुष्टि हुनेमा स्याङ्जाका ३ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकाका हुन् । उनीहरु क्रमशः २९, १९ र २० वर्षीय पुरुष छन् ।

त्यस्तै, बागलुङको बडिगाड गाउँपालिकाका १९ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही जिल्लाकै गल्कोट नगरपालिकाका २५ र ३५ वर्षीय २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा पोखरा महानगरका २५ र ८५ वर्षीय २ जना पुरुष छन् ।

संक्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । प्रदेशभरि कोरोनालाई जितेर घर फर्किनेमा ६ सय ३३ जना छन् ।