काठमाडौं, असार २७ । सरकारले विदेशी महंगा मदिराको आयात रोक्दा तीन महिनामा झण्डै ५० करोड रुपैयाँ विदेशिनबाट जोगिएको छ । सरकारले गत चैत १६ गतेदेखि विदेशबाट मदिरा आयात रोक्ने निर्णय गरेको थियो ।
कोरोना भाइरसका कारण अर्थतन्त्र संकटमा परेका बेला विलासी वस्तुको आयात घटाउने रणनीति अन्तर्गत सरकारले सो निर्णय गरेको थियो । नेपालमा वार्षिक २ अर्बभन्दा बढीको विदेशी मदिरा आयात हुँदै आएको तथ्यांक छ । भन्सार बिभागका महानिर्देशक सुमन दाहालका अनुसार सो हिसाबले तीन महिना मदिरा आयात रोकिदा झण्डै ५० करोड रुपैयाँ बराबर स्वदेशी मुद्रा विदेशिनबाट जोगिएको हो । नेपालमा स्कटिस ह्वीस्की, जोनी वाकर तथा सिवास रिगल र अमेरिकी जेडी ह्वीस्की नेपालमा प्रख्यात ब्राण्डका मदिरा बढी आयात हुने गरेको छ ।
यस्तै वाइन, भोड्का, जिनजस्ता अल्कोहलिक पदार्थको आयात उच्च हुने गरेको भन्सार विभागको भनाई छ । नेपालमा भारत, जर्मनी, फ्रान्स, स्कटल्याण्ड, इटाली, अमेरिका, बेल्जियमदेखि क्युवा तथा खाडीका मुलुकबाट समेत मदिरा आयात हुने गरेको विभागको तथ्यांकमा देखिन्छ । नेपालले बेलायतबाट रम र चीनबाट बियरसमेत आयात गर्ने गरेको छ । यस्तै, अब्सुलुट, सिरक, स्क्रिअस जस्ता मदिरा पनि नेपालमा आउँछन् ।
नेपालमा मदिरा, डिष्टिलरी, वाइन, साइडर र बियर उद्योग करिब दुई हजारको हाराहारी छन् । नेपालमा वार्षिक औपचारिक तथा अनौपचारिक रुपमा ३० अर्ब रुपैयाँ बराबरको मदिराको कारोबार हुने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्