जनता टाइम्स

२८ असार २०७७, आईतवार १३:५५

मास्क नलगाई हिड्ने ६७ जना कारवाहीमा


सल्यान, असार २८

सल्यानमा मास्क नलगाएर यात्रा गर्ने ६७ जनालाई कारवाही गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थामा आवश्यक सावधानी अपनाउँदै यसको रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउन अनिवार्य रुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएपनि मास्क नलगाएर हिड्नेलाई कारवाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको हो ।

हिजोमात्रै जिल्लाको श्रीनगर, थारमारे, लुहाम र कपुरकोट क्षेत्रमा गरेर मास्क नलगाउने ६७ जनालाई कारबाही गरिएको सल्यान प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । मास्क नलगाउनेलाई कारवाही स्वरुप एक सयका दरले जरिवाना गरिएको उहाँको भनाई छ । अति आवश्यकीय काम पर्दा बाहेक घर बाहिर ननिस्कन र यदि कसैलाई घर बाहिर निस्कनै परेमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरिएको जिप्रका सल्यानले जनाएको छ ।